काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।
तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो । साथै, तामाङसहितका लागुऔषध ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा लागुऔषधका १५ मुद्दा दर्ता भएका छन् । सेवनका आठ र ओसारपसारका सात मुद्दामा ३२ जना संलग्न रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए । उनका अनुसार आव २०७९÷८० मा सात मुद्दा दर्ता भएका थिए । अठारदेखि २५ वर्ष उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेर समूहका दुई पुरुष र ४६ देखि ५९ उमेर समूहका दुई पुरुष र एक महिलालाई लागुऔषध सेवन तथा ओसारपसारमा मुद्दा चलाइएको छ ।
कार्यालयका अनुसार प्रहरीले हालसम्म लागुऔषध ओसारपसारका क्रममा तीन सय २५ किलो गाँजा र ३८ ग्राम खेरो हिरोइन बरामद गरेको छ । यस्तै सेवनका क्रममा डाइजिपाम चार एम्पुल, नोफिन तीन एम्पुल, फेनारगन दुई एम्पुल, नाइट्राभेट आठ सय दुई ट्याब्लेट, कोरेक्स तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ । बितेको आवमा २० हजार गाँजाका बोट फडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर पाँच सय ८३ जनालाई सचेतना कार्यक्रम गरिएको जनाइएको छ । गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध नेपालको कानुनद्वारा निषेधित हो भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थ हो ।
घटनाक्रमले सुराकका आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, बिपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको तथ्याङ्कबाट देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ