काठमाडौं । संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै विवाद भएको छ । प्रधानमन्त्री ओलीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि सवालजवाफ भयो ।
सबैभन्दा पहिले कांग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभूज परियोजनासँग सम्बन्धित थियो । प्रधानमन्त्रीले सीधै त्यो प्रश्नमा प्रवेश गरेनन् । बरु यसअघि शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले । दाहालले ट्रंक लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले हिजो रोष्टममा बोल्दै प्रधानन्त्रीले विचौलियाको भाषामा सफेद झुट बोलेको आरोपसमेत लगाए ।
सवालजवाफका लागि आएका प्रधानमन्त्री ओलीले सुरूमा पुष्पलाललाई सम्झिए । त्यसपछि उनले आफ्नो गुनासो राख्न थाले । ‘हामी यस गरिमामय सदनमा हामीले बोल्दा भएका कुरा बोल्ने गरौं, सही कुरा र तथ्ययुक्त कुरा बोल्ने गरौं । पार्टी फरक होला, तर त्यसो भनेर जथाभावी बोल्ने नगरौं झुटको सहारा नलिऊँ । असभ्य तरिकामा प्रस्तुत नहोऊँ,’ ओलीले भने ।
उनले थपे, ‘मैले हिजो बोल्दा विद्युत महसुल तिर्न पर्ने र नपर्ने भनिएका उद्योगी र प्राधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्छ भनेको हो । मैले शुल्क तिर्नुपर्दैन भनेर भनेको छैन । ‘बेठिकखालका सेटिङ र विभिन्न खालका तन्त्रको पछाडि मलाई कुद्नु छैन । देश र जनताको हितको पक्षमा ६० वर्ष समर्पण गरेको छु । बाँकी जीवन पनि समर्पण गर्छु । कसरी मैले तिर्नु पर्दैन भने ? यहाँ उपस्थित हुनुहुन्नथ्यो भने रेकर्ड सुनेर आउनुस् । हामी गरिमामय संसदमा छौं । जनताले छानेका प्रतिनिधिले झूटो नबोलौं । कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक खालका फोटोहरु छपाएको छ । हामीले सत्य कुराहरु गर्न सिक्नुपर्छ । भ्रष्टाचारका विरुद्ध बोलौं, भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप नलगाउँ । म प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझ्या हुन सक्छ । कसैलाई मर्का पर्या हुन सक्छ । यो दलीय व्यवस्था हो । प्रश्नहरू राजनीतिक हिसाबले नै अगाडि बढाऊँ ।’
प्रधानमन्त्रीले यस विषयमा लामै प्रवचन दिन थालेपछि माओवादीका वर्षामान पुनले उठेर नियमापत्ति गरे । उनलाई सभामुखले बोल्न समय दिए । पुनले सवालजवाफको समयमा प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलिरहनुभएको हो भनेर सभामुखलाई रुलिङ गर्न माग गरे ।
त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौं भन्ने हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुबाको मुख हेर्ने दिन अवसरमा प्रधानमन्त्री ओलीको श्रद्धा प्रकट
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज पेसी
विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग सिंहदबारमा भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्रीको भारत भ्रमण : ओली नेपाली सेनाको विमानमा काठमाडौँबाट सिधै बोधगया जाने
प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै