आज जितिया

यसरी मनाइन्छ थारु महिलाको महान पर्व जितिया

मंगलबार, १६ असोज २०७५, ०७ : ५६
यसरी मनाइन्छ थारु महिलाको महान पर्व जितिया

- कारी महतो

जितिया पर्व थारु महिलाहरुको एउटा साँस्कृतिक र धार्मिक पर्व हो । यो पर्व थारुबाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसँग मनाउँछन् । जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लामा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । 
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । यसवर्ष असोज १५ गते लाहा खाएके, १६ गते उपास र १७ गते पारनको तिथि परेको छ । जितियामा निराहार ब्रत बसिन्छ । तर ब्रत नबस्ने महिलाहरुको पनि उत्तिकै सक्रियता हुन्छ । ब्रत बस्ने महिलाहरुलाई “पब्नाहरी” र नबस्नेलाई “धोब्नाहरी” भनिन्छ । 
जितिया ब्रत दुई किसिमको हुन्छ – साधारण जितिया र खर जितिया । साधारण जितियामा भन्दा खर जितिया ब्रत निकै कठोर मानिन्छ । खर जितियामा “डट्खट्” खाईदैन । साधारण जितियामा अष्टमीको राति कथा सुनेर फलफूल, पानी खाइन्छ तर खर जितियामा फलाहार गरिँदैन । खर जितिया ब्रतमा ३६ घण्टासम्म अन्न, फलफूल, पानी केही पनि नखाई कठोर ब्रत बसिन्छ । 
सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । तर अचेल घिरौलाको पातको सट्टा कर्कलाको पात पनि प्रयोग गरिन्छ । 
जितिया ब्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्यालले पनि जितिया ब्रत बस्ने भएकोले ती जनावरहरुका निम्ति पातमा राखी पिना बगाउने गरिएको हो । त्यस दिनभरि चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउँछन् । सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने गर्दछन् । पूर्वी तराईको डट्खटलाई “ओट्घन” भन्दछन् ।
“खर जितिया” ब्रतमा “डट्खट” खाइँदैन । डट्खट् खाईसकेपछि ब्रतालुहरु जाग्राम बस्नुपर्दछ । उनीहरुले प्रत्येक घरबाट गीत गाउने महिला र पुरुषहरुलाई ब्युँझाएर गाउँको एकै ठाउँमा भेला गराउँछन् । ती रौराहर (गवैया) महिला पुरुषहरुले त्यसबेला गाउने गीतलाई “बदहा गीत” भनिन्छ । बदहा गीतको सानो अंश यस्तो छ –
“कारी डाटी तुलसी रे...या हे रे महादेव लेहुना विचारे !
पापी कहे तुलसी री रामा, जरी पुरी देहु ... या हे रे महादेव लेहुना रे विचारे !!”
बदहा गीत भोलिपल्ट अर्थात अष्टमीको बिहानसम्म गाउने चलन छ । 
बिहान सबेरै ब्रतालुहरु सबैजना खोला–नदीमा गई स्नान गर्छन् र अघिल्लो दिनझै पातमा पिना राखी बगाउँछन् । स्नान गरेर फर्केपछि सबैजना भेला भई बेलको पात टिप्न जान्छन् । त्यसलाई “बेलपाती लोर्हे जाई” भनिन्छ । ब्रतालुहरुसँगै गवैया महिला पुरुषहरु पनि जान्छन् । बेलको रुखको चारैतिर ब्रतालुहरु “झम्टा नृत्य” र गीत प्रस्तुत गर्दछन् । त्यसबेला गाउने गीतलाई “फुला लोर्होनी गीत” भनिन्छ । फुला लोर्होनी गीतको सानो अंश यस्तो छ –
“माथे लेले डालावा री डालावा...,
हाथे लेले यकुसीया री बेटी....,
फुला लोर्हे यैलो री बाबा....
रउरी फुलवोरिया...”
गीत समाप्त भैसकेपछि मात्र ब्रतालुहरुले बेलको पात टिप्छन् । बेलको रुख ठूलो र अग्लो भएमा ब्रतालुहरुले केटाकेटीहरुको सहयोग लिन्छन् । ती पातहरु भूइँमा खसाल्न हुँदैन । भुइँमा नखसाली सबै जनाले चोखो वा नयाँ डालोमा बेलको पात घर लैजान्छन् । बेलको पात घरमा ल्याइसकेपछि उनीहरुले एक दुई माना जति मास भिजाएर राख्छन् । त्यस दिन ब्रतालुहरुले पानी पनि नखाई उपवास बस्छन् । त्यस दिन महिलाहरु नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झम्टा नृत्यमा झुमेर रम्छन् । 
झम्टा नाच, गीत चितवन र नवलपुरमा निकै चर्चित साँस्कृतिक नृत्यको रुपमा लिइन्छ । झम्टाका सहभागीहरु पहिला गोलो घेरा आकारमा उभिन्छन् । त्यसपछि सबै जनाले एकैकिसिमले झुमेर र काल्पनिक घेराको चारैतिर घुमेर शरीरका विभिन्न अंगहरु एकैनासले ताल मिलाएर थपडी बजाउँदै सुरिलो स्वर निकाली लयात्मक भाकामा गीत गाउँछन् । जितियाको मुख्य विशेषताहरुमध्ये झम्टा महत्वपूर्ण मानिन्छ । 
उपासको बेलुकीपख करीब तीन–चार बजेतिर सबै ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउँछन् । घर आउने क्रममा धानको रोपोको एक मुठा उखेलेर ल्याउँछन् । धान उखेल्नु भन्दा अगाडि “गावा उखरोनी गीत” यसरी गाउँछन् –
“पाँच सखिया मिली गावा उखारे...
हरे बसे बसिया पुराने, हमरे के काथा सुनादे...”
गीत गाउँदै एक मुठा धानको बोट उखेलेर ल्याउँछन् । ब्रह्मथानलाई तीन पटक परिक्रमा गरी जल चढाउँछन् । धारा वा इनारबाट जल लिई ब्रह्मथानमा जल चढाउने क्रममा गीत गाउँछन् । त्यो गीतलाई “जरहरी मन्वाना” गीत भनिन्छ । गीतको एक टुक्रा यस्तो छ –
“बालु तर कसिरे मिसिरे माटी...तर गंगा बहई सरासति रे धारे...जरहरी रे मान्ता !
केथि कर डोङवा केथि रे लागो... बहना बहई सरासति रे धारे ... जरहरी रे मान्ता !!”
त्यसपछि घरमा आई नयाँ नयाँ पहिरनमा जम्मा भई पाकडी वा पीपलको बोटमुनि झम्टा नृत्यमा झुम्छन् । गवैया महिला पुरुषहरु पनि त्यहाँ जम्मा भई गीत गाउँछन् । त्यसबेला गाउने गीतलाई “डार कटोनी गीत” भनिन्छ । डार कटोनी गीतको सानो अंश यस्तो हुन्छ –
“कौन मोर चढीहे सिरी भेल गाछ
भैया मोर चढीहे सिरी भेल गाछ
उतरे क डरवा काटी उतरे ओरी ओइराई
दखिने क डरवा काटी दखिने ओरि ओइराई”
उता केटाहरु रुखमाथि चढेर रुखको हाँगा काट्न तम्तयार हुन्छन् र गीत सकिएपछि एउटा सानो हाँगा काटेर झारीदिन्छन् । ब्रतालुहरुले त्यस हाँगालाई भूँईमा नखसालाी कथा सुन्ने ठाउँमा लिएर जानु पर्ने हुन्छ । तर बाटोमा केटाहरुले एउटा मोटो रस्सी तेस्र्याएर बाटो छेक्छन् । गवैयाहरुले सुरीलो स्वरमा गीत सुनाएपछि बल्ल बाटो छोड्छन् । त्यसबेला गाउने गीतलाई “डगरोट गीत” भनिन्छ । डगरोट गीत यसरी गाउँदै हिड्छन् –
“रङी चङी गेलीहे कि बाटी साटी बिडवा...
हाँ हाँ...री खुटवा री बिडवा चढाई बरु...”
गाउँको बीचमा कुनै घरको फराकिलो आँगन हेरी कथा सुन्ने ठाउँ छनौट गरिन्छ । कथा सुन्ने ठाउँमा त्यो हाँगा गाडेर सानो रुख बनाइन्छ । रुखमा चीलको गुँड “ठाट क क्वाथा” पनि बनाइन्छ । मुनि धानको गावा राखिन्छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास “जाइँंकुरी” र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा शुरु गर्नुअघि अर्का एक व्यक्ति जसलाई “हुकुरिहर” भनिन्छ, त्यो व्यक्तिले धनुवाण तन्काएर कथा सुन्ने ठाउँमा तीन पटक घुम्दुै भन्छ – “बबुइहरी पबनहरीह ! यापन यापन दुधपुत लेके बैठह !” 
त्यसपछि सबैजना कथा सुन्न तम्तयार हुन्छ । अनि कथा भन्ने व्यक्तिले जितवाहनको कथा अर्थात् जितिया ब्रत कथा यसरी शुरु गर्छ – 
“शीत क पानी खभर–डभर,
ल्वा¥हा डुबे सिलावट उठे,
एक हाथ खिरा, चौध हाथ बिया, 
यारे बौली पारे उब्जौली,
हेङा लेले गेली बादरी सिये, 
बादरी गेली घर्रकी, 
मुसरीक कान गेली चर्रकी ! ”
“तौने समयमा यगुटा रहली उचरिङवादानो, यगुटा रहली मुसरीया दानो । मुसरीया दानो यापन घर बनावके खतुरे घरसङहा लेवे वन जायके विचार करली ...” 
यसरी कथा भन्ने व्यक्तिले घण्टौं घण्टा लगाएर कथा भन्छ । कथा भन्ने व्यक्तिलाई “काथा कहलाहर” भन्दछन् । काथा कहलाहर कथा भन्ने क्रममा जति पटक जीतवाहनको नाम उच्चारण गर्छ, त्यति नै पटक ब्रतालुहरुले आफूले लिएको मास र अक्षता पिपलको हाँगामा चढाउने गर्दछन् ।  
कथा सकिएपछि फेरि “हुकुरिहर” ले धनुबाणमा ताँदो चढाउँदै चारैतिर घुम्छ र भन्छ –“बबुइहिरी पबनहरीह यापन यापन दुधपुत लेले उठह री” त्यसपछि सबै ब्रतालुहरु आआफ्ना सामग्रीहरु लिएर घर जान्छन् । घर गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्छन् । 
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा “गरग्वाङ” भनिन्छ), बनाएर मासको गेडा “जाइँकुरी”ले पूजा गर्छन् । मासको गेडा केहि दिनपछि त्यस “गरग्वाङ” मा राम्ररी उम्रिएमा त्यस ब्रतालुको सन्तान सुखको राम्रो लक्षण मानिन्छ । स्थान गर्ने क्रममा जाँइकुरी, अक्षता र कथा सुनेको पानीले छर्केर “पारन कर, कर” शब्द उच्चारण गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुहरु दही, चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ । त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य परिकार माछा, मासु लगायत खान्छन् । पारन गरिसकेपछि बाँकी रहेको भिजाएको मास भुटेर खान्छन् । 
त्यसदिन पनि दिनभरी झम्टा गीत र नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा, फलफूल बटुलेर कथा भन्ने मान्छे र पीपलको हाँगा काट्ने केटाहरुलाई दिन्छन् । यसरी जितिया पर्व सकिन्छ । अचेल जितियाको झम्टा गीतमा महिला अधिकार र महिला हिंसा विरुद्धको आवाज सुन्न पाइन्छ । 
“नारी जे हमरा संसारक सृष्टि नारी जे हमरा....
सब नारी एकजुट हखु, महिला हिंसा आवाज हमार उठाउ ....
तेत्तीस प्रतिशत महिला अधिकार, तेत्तीस प्रतिशत कागजम मतुरे...
कागजम मतुरे सिमित नाही करु, हक अधिकार लेहुँ...”
 

प्रतिक्रिया दिनुहोस