नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा, प्रिमियम उपमहानगरले तिरिदिने

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १३ : ०५
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा, प्रिमियम उपमहानगरले तिरिदिने

बाँके। नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताए ।उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिए ।

संयोजक सिंहका अनुसार विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिने छ । ​जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ ।उनले त्यसका लागि झन्डै तीन सय घरधुरी सर्वेक्षण गरिसकिएको उल्लेख गरे । ​​

उपमहानगरपालिकाले रु १५ लाखसम्मको बीमा गरिदिने र रु १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरले प्रिमियम तिरिदिने तथा रु १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ ।

रु १५ लाखको बीमा गर्दा रु पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ ।राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए ।

नेपालगन्जका वडा नं ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ ।सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसैको पहलमा सो काम भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस