सम्पादकीय

निर्मलाको निम्ति न्याय मरेकै हो त ?

आइतबार, १४ असोज २०७५, १२ : १८
निर्मलाको निम्ति न्याय मरेकै हो त ?

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त गत साउन १० गते आफ्नो घरबाट बिहान १० बजे साथी रोशनी बमको घर जान हिँडिन् । भोलिपल्ट निर्मला उखुबारीमा मृत अवस्थामा फेला परिन् । शव देख्ने सबैले ठहर गरे, निर्मलाको बलात्कारपछि हत्या भएको हो । छोरी हराएपछि निर्मलाकी आमा दुर्गादेवीले छोरी खोजी दिन प्रहरीलाई साउन १० गते राति नै आग्रह गरिन् । प्रहरीले गैरजिम्मेवार हुँदै ‘आज अबेला भइसक्यो, भोलि आउनुहोस्’ भनेर फर्कायो दुर्गादेवीलाई । भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका वडा नम्बर १९ स्थित उखुबारीमा फेला प¥यो । शवको मुचुल्का उठाउन र घटनाको प्रारम्भिक अनुसन्धान गर्न गएका प्रहरीले नै निर्मलाले लगाएको ट्राउजर धोएर प्रमाण नष्ट गर्ने काम गरे । घोप्टो अवस्थामा भेटिएको शवलाई उचालेर सुख्खा ठाउँमा ल्याउनुको साटो घटनास्थलमै पानीमाथि उत्तानो पार्ने, धमिलो पानीले मृतक निर्मलाको योनी पखाल्ने काम प्रहरीबाटै भयो । पन्तको बलात्कारपछि विभत्स हत्या भएको आज आइतबार ६७ दिन पुगेको छ । घटनाको विरोधमा राजधानी काठमाडौँसहित देशका विभिन्न शहरमा निर्मलाका निम्ति न्याय भन्दै विरोध जुलुस निकाल्ने क्रम अझै रोकिएको छैन, तर निर्मलाको निम्ति न्याय हराइरहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानकै बेला प्रमाण संकलन र संरक्षण गर्नुको साटो प्रमाण नष्ट गर्ने काम गरेपछि निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै घटनाको विरोधमा भीमदत्त नगरपालिकावासीले कञ्चनपुरमा आन्दोलन सुरु गरे । जनताले न्याय मागेको आन्दोलनलाई मत्थर पार्न भदौ ४ गते निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा मानसिक अवस्था ठीक नभएका ४१ बर्षीय दिलिपसिंह बिष्ट पक्राउ परे । डीएनए परीक्षणबाट दोषी प्रमाणित नभएपछि उनी जेलबाट छुटिसकेका छन् । प्रहरीले नक्कली अभियुक्त बिष्टलाई मुख्य आरोपीको रुपमा उभ्याएपछि सर्वसाधारणले न्याय माग्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिए । धर्नाकै क्रममा महेन्द्रनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप भयो । झडमा एक जनाको मृत्यु भयो । दर्जनौँ घाइते भए । आन्दोलन रोक्न प्रशासनलले कफ्र्युको घोषणा ग¥यो । यसैबीच सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी कञ्चनपुरका सिडिओ कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई काठमाडौँ फिर्ता बोलायो । उनीहरुको ठाउँमा प्रजिअ तीर्थ अधिकारी र एसपी कुबेर कठायत खटिए ।

जनताको दबाबमा गृह प्रशासनले निर्मला हत्याका सम्बन्धमा सोधपुछ गर्न बबिता बम र रोशनी बमसँगै घटनालाई पदको दुरुपयोग गरी प्रभावित बनाउन खोजेका एसपी डिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजालाई पक्राउ ग¥यो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र आन्दोलनको क्रममा मरेका सन्नी खुनाको परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने सरकारी निर्णय आयो । निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौँ प्रदर्शन सुरु भएपछि सरकारले एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरी डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी मुख्यालयमा फिर्ता बोलायो । डिएसपी कृष्णराज ओझा नेतृत्वमा अर्को छानबिन समिति गठन भयो । यसबीचमा खानेपानीमन्त्री बिना मागर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलको परिवारसँग भेट गरे । महानिरीक्षक खनालले घटना अनुसन्धानका क्रममा प्रहरीबाट कमजोरी भएको स्वीकार गरेका छन् । न्यायमा विलम्ब भएपछि निर्मलाका बुवा र आमाले काठमाडौँ पुगेर पत्रकार सम्मेलन गरी कि छोरीलाई न्याय देऊ कि हामीलाई पनि मारिदेऊ सरकार भनेका छन् । सरकार, निर्मलालाई न्याय कहिले दिन्छौ खै ? किन अझै न्याय पाउन सकेकी छैनन् निर्मलाले ? के निर्मलाको निम्ति न्याय मरेकै हो त ?

प्रतिक्रिया दिनुहोस