रोल्पामा बालविवाह दर बढ्दो

शनिबार, १३ असोज २०७५, १६ : २४
रोल्पामा बालविवाह दर बढ्दो

–उमा केसी 
रोल्पा  ।  कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका साथ दुबैजनाले विवाह गर्ने निर्णय गरे । 

सरस्वतीले प्रेम गरेको केटासँगै बिहे गरिदिन उनको परिवार राजी भयो । प्रेम सम्बन्ध मागी विवाहमा परिणतभयो । 

विवाह गर्दा १४ वर्ष उमेर रहेकी सरस्वतीले १६ वर्षमै छोरा जन्माइन । अहिले सरस्वतीको उमेर २० वर्ष भयो भने उनको छोराका उमेर चार वर्ष पुगेको छ । छोरालाई नजिकै विद्यालयमा भर्ना गरेकी सरस्वती आफूले भने सदरमुकाम लिवाङमा व्यापार गरिरहेकी छिन । 

सदरमुकामको एक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै गर्दा १४ वर्षकै उमेरमै विवाह बन्धनमा बाँधिन पुगिन्, रोल्पा नगरपालिका ४ की गोमा पुन । विवाहपछि लाज लागेका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् । विवाह भएको एक वर्षपछि छोरी जन्माएकी उनको पारिवारिक सम्बन्ध भने सफल हुनसकेन । फलस्वरुप १७ वर्षको उमेरमा श्रीमान्सँग सम्बन्ध विच्छेद गरिन् । उनले हाल सदरमुकाममा व्यापार गरिरहेकी छिन् । 

यी बालविवाहका प्रतिनिधिमूलक घटना पात्र हुन् । रोल्पा जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन् । चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि समाजमा ठूलो सङ्ख्यामा बालविवाह भइरहेको छ । कानूनले २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ । बालविवाह गर्नेको सङ्ख्या धेरै भए पनि यस विरुद्ध निकै कम उजुरी आउने गरेको देखिन्छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, आर्थिक वर्ष २०७३÷०७४ मा बालविवाह विरुद्ध दुई वटा उजुरी परेको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा यो सङ्ख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा गर्भवती जाँच गराउनेमध्ये ठूलो सङ्ख्याका किशोरी २० वर्ष मुनिका देखिएका छन । अघिल्लो आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा यसरी गर्भवती चेकजाँच गर्ने २० वर्ष मुनिका किशोरीको सङ्ख्या ४७८ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिनुभयो । सोही अवधिमा भएका गर्भपतनमध्ये २६ वटा २० वर्ष मुनिका किशोरीले गराएका छन्, उहाँले भन्नुभयो । 

यता अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्ष मुनिका किशोरीको सङ्ख्या ५५३ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरी भने नाम मात्रैको छ । बालविवाह गर्नु गैरकानूनी काम हो भन्ने जनतामा चेतना नहुँदा उजुरी कम परेको हुन सक्छ महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भन्नुभयो । “बालविवाहका अधिकाँश घटना गाउँमै मिलापत्रमा टुग््याइने चलनले पनि प्रहरी समक्ष यस्ता उजुरी निकै कम आइपुग्ने गरेको छ”, आचार्यले भन्नुभयो । 

जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले नियमित रुपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरण सम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षासमेत सञ्चालन गरिरहेको बताइएको छ । 

सुनछहरी गाउँपालिका रोल्पाले गाउँपालिकाभित्रका विद्यालयमा हरेक शुक्रबार किशोरी शिक्षा अध्यापन गराउँदै आएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । यसका अतिरिक्त स्थानीय सरकार, आमा समूह र विभिन्न गैरसरकारी संस्थालेसमेत बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहेको छ तर पनि जिल्लामा बालविवाह दर बढ्दो छ ।   (रासस) 
 

प्रतिक्रिया दिनुहोस