एजेन्सी । पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न स्थानमा आक्रमण गरेको छ। यी आक्रमणहरू जम्मू-कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न स्थानहरूमा भएका हुन्।
पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । यता भारतीय पक्षले एस-४०० एयर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ।
बुधबार जम्मु र पठानकोटमा आत्मघाती ड्रोनमार्फत आक्रमण भएको थियो। पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट एयरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । बिहीबार पनि ती स्थानलाई निशाना बनाउँदै आक्रमण भएको छ । भारतीय एयर डिफेन्स सिस्टमले ती आक्रमण निष्फल पारेको जिकिर त्यहाँका सञ्चारमाध्यमले गरेका छन् ।
अहिले भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान भइरहेको छ। नियन्त्रण रेखा ९एलओसी० नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानको तर्फबाट गोली हानिएको जिकिर भारतीय पक्षले गरिरहेको छ ।
कश्मीरका सतवारी, साम्बा, आरएसपुरा सेक्टर र अरनियामा पाकिस्तानले ८ वटा मिसाइलहरू प्रहार गरेको दाबी भारतीय सेनाले एक्समा लेखेर गरेको छ । तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ ।
तनावपछि यी क्षेत्रमा ब्ल्याकआउट
जम्मु-कश्मीर: जम्मु, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनाग
राजस्थान : बाडमेर, बिकानेर र श्रीगंगानगर
पञ्जाब : चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोट
गुजरात: भुज, कच्छ
बुधबार मात्रै पाकिस्तानले १५ भन्दा बढी भारतीय सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको बताइएको छ। 'अपरेशन सिन्दूर’को भोलिपल्ट अर्थात् बुधबार-बिहीबार राति पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा आक्रमण प्रयास गरेको थियो।
भारतले बिहीबार बिहान पाकिस्तानको एयर डिफेन्स सिस्टम ध्वस्त बनाएको दाबी गरेको छ । तर पाकिस्तानले यसलाई नकारेको छ। आक्रमणमा इजरायलबाट प्राप्त हार्पी ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ ।
भारतीय रक्षा मन्त्रालयले बिहीबार जनाएअनुसार पाकिस्तानले उत्तर र पश्चिम भारतका सहरहरूलाई निशाना बनाएको थियो। यस क्रममा अवन्तीपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपूरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिण्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजमा ड्रोन र मिसाइलहरू दागिएको थियो ।
भारतीय सेनाको हेडक्वार्टर इन्टिग्रेटेड डिफेन्स स्टाफले एक्स (ट्विटर)मा लेखेको छ, ‘पाकिस्तानतर्फबाट जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई निशाना बनाइएको थियो। पाकिस्तानले मिसाइल र ड्रोन दागे पनि क्षति भएको छैन। भारतको रक्षा प्रणालीले सबै हमलाहरू निष्फल बनाएको छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०८२, ०६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
इजरायली सेनाको आक्रमणमा ६७ जनाको मृत्यु
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण