राहुलले वायनाड छोडे, प्रियंका चुनाव लड्ने

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, ११ : ०३
राहुलले वायनाड छोडे, प्रियंका चुनाव लड्ने

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसकी नेत्री प्रियंका गान्धी लोकसभाका निम्ति पहिलोपटक चुनाव लड्ने भएकी छन् । उनका भाइ राहुल गान्धीले छोडेको वायनाड क्षेत्रबाट उनी चुनाव लड्ने भएकी हुन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुल केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेली सिटबाट विजयी भएका थिए । उनले वायनाडको क्षेत्र छोडेका छन् । उक्त क्षेत्रबाट प्रियंका चुनाव लड्न लागेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रियंकाले वायनाडमा राहुलको अभाव हुन नदिने बताएकी छन् । 'म वायनाडको प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी हुनेछु। म वायनाडका जनतालाई राहुल गान्धीको अभाव हुन दिनेछैन,' उनले भनिन्, 'राहुल गान्धीले भनेका छन् कि उनी वायनाड आइरहनेछन्। म पनि सबैलाई खुसी राख्न कडा मेहनत गर्नेछु।'

भाजपाका नेताहरूले भने कांग्रेसले वंशजको राजनीति गरेको फेरि पुष्टि भएको भन्दै आलोचना गरेका छन् ।प्रियंका गान्धीलाई २०१९ लोकसभा चुनावअघि कांग्रेसको महासचिव नियुक्त गरिएको थियो । राहुल गान्धी केरलाको वायनाड सिटबाट २०१९ मा पहिलोपटक लोकसभा सांसद चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस