काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री ज्वाला कुमारी साहले कृषि क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राम्रो नतिजा दिन नसकेको गुनासो गरेकी छन् ।
नार्क अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रको ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीमा मन्त्री साहले कृषि क्षेत्रमा नार्कका वैज्ञानिकले रिजल्ट आउने गरी काम नगरेको गुनासो गरेकी हुन् ।
‘नार्कका वैज्ञानिक साथीहरूले रिजल्ट आउने गरी काम गर्नुपर्यो,’ उनले भनिन्, ‘छोटो समयावधिका लागि कार्ययोजना बनाएर ३ महिना वा ६ महिनामा रिजल्ट दिन्छु भनेर लाग्नु पर्यो ।’
यस्तै मन्त्री साहले कृषि क्षेत्रमा कार्यरत कर्मचारी समान रूपले वैदेशिक भ्रमणमा जान मिल्ने गरी मापदण्ड बनाउने बताइन् । ‘मापदण्ड बनाएर सबै कर्मचारीलाई समान तरिकाले विदेश जाने परिपाटि ल्याउनु पर्छ,’ उनले भनिन्, ‘वैदेशिक भ्रमणमा कति गएका छन्, एक जना कति पटक गएका छन्, नियाल्न पाउनुपर्छ ।’
एकै कर्मचारी पटक–पटक वैदेशिक भ्रमण जाने तर अरूले अवसर नपाउने भन्दै मन्त्री साहले अन्य कर्मचारी अवसर नपाउने तर्क गरिन् । ‘वैदेशिक भ्रमणमा अरू कर्मचारीलाई समान भएको छ की छैन ?’ उनले प्रश्न गरिन् ।
यस्तै, मन्त्रालयले कर्मचारी सरुवा गरेको विषयमा उनले जानकार व्यक्तिलाई आवश्यक परेको ठाउँमा पठाउन पाउनु पर्ने दाबी गरिन् । ‘जानकार मान्छे आवश्यक परेको ठाउँमा जाँदै नजाने, ’ उनले भनिन्, ‘वर्षौँदेखि एकै ठाउँमा बसेको कर्मचारीलाई हटाउन नमिल्ने यस्तो पनि परिपाटी हुन्छ ?’
राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले बागवानी क्षेत्रमा नीतिगत योजना बनाउनका लागि दुई दिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा ५५ वटा कार्यपत्र र ३० बढी कृषिसँग सम्बन्धित निजी तथा सरकारी कार्यालय सहभागी छन् । यो गोष्ठी भोलिसम्म जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १५ : १९
लेखकबाट थप