विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १४ : १६
विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार , रूपन्देहीको तिलोत्तमा नगरपालिका-३ बस्ने ६५ वर्षीया जुनुमाया गुरूङ तथा शुद्धोधन गाउँपालिका-७ मधुबनी बस्ने ३४ वर्षीय हरिराम हरिजन आ-आफ्नै घरमा र तिलोत्तमा नगरपालिका-३ संयोग पथस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको पाँचखपन नगरपालिका-३ आरूबोटे बस्ने ३३ वर्षीय भेषराज काल्पा मगर सोही नगरपालिका-३ बडेनी पुल मुनि बुधबार मृत अवस्थामा फेला परेका छन् । 

महोत्तरीको बर्दिबास नगरपालिका-१४ हाटबजार चौतारामा कवाडी संकलन गरी हिँड्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

सिन्धुलीको कमलामाई नगरपालिका-११ थरहरी बस्ने ६२ वर्षीय गोकर्ण खपाङ्गी मगर सोही ठाउँस्थित सर्पखोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

रूकुम पश्‍चिमको सानिभेरी गाउँपालिका-६ बस्ने ५१ वर्षीय धन बहादुर दमाई सोही गाउँपालिका-५ बल्लेबाँसस्थित मकै बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबार गाउँतर्फ जान्छु भनी हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ मोडेलचौर बस्ने ४२ वर्षीय कमल प्रसाद पाण्डे क्षेत्री सोही ठाउँस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका-४ शुक्रवारी बजार छिर्ने गेट नजिकको फुटपाथमा सोही उपमहानगरपालिका शान्तिनगर बस्ने ५० वर्षीय बिजय कर्ण बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटाको पाख्रिवास नगरपालिका-८ खातीडाँडा बस्ने ६५ वर्षीय मान बहादुर दर्जी सोही नगरपालिका-४ चिलिम खोल्सोस्थित सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
 

 

प्रतिक्रिया दिनुहोस