सेयर बजारमा उत्साह, साढे ५ अर्बभन्दा बढीको कारोबार

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १५ : ५४
सेयर बजारमा उत्साह, साढे ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

यसअघि लगातार तेस्रो दिन घटेपछि सोमबार परिसूचक ८.९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो । विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि अन्तिम समयमा ‘सेल प्रेसर’ आउँदा परिसूचक बढ्न सकेको थिएन ।

मङ्गलवार भने २०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै २ वटा कम्पनीको मूल्य भने स्थिर कायम छन् । परिसूचक उत्साहजनकरुपमा बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको १ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज वरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथेली बुखारी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक अप्पर हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज कारोबार भएका सबै समूहमा सुधार आएको छ । १३ वटा समूहमध्ये जीवन बिमा समूहमा २४१ अङ्कको वृद्धि आएको छ । यस्तै निर्जीवन बिमा समूहमा २३३ अङ्क, जलविद्युत समूहमा ६६ अङ्क र व्यापार समूहमा ६२ अङ्कको वृद्धि आएको छ । यसबाहेक विकास बैङ्क समूह ५७ अङ्कले बढ्दा लघुवित्त ४८ र वित्त समूह ४६ अङ्कले बढेको छ । यसबाहेक अन्य समूहमा समेत सुधार आएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी र ग्लोबल आईएमई लघुवित्तको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस्तै आज ३११ वटा कम्पनीको सेयर ७४ हजार ८७७ पटक किनबेच भएको नेप्सेले जनाएको छ । आजसहित पछिल्लो तीन दिन लगातार नेप्सेमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसअघि हिजो सोमबार र आइतबार समेत नेप्सेमा एकै दिन ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस अघिसम्म दैनिक ३ देखि ४ अर्ब रुपैयाँ आसपास सेयर कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस