उद्धार गरिएको चित्तलको बच्चा वन रक्षकको निगरानीमा

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १५ : ०२
उद्धार गरिएको चित्तलको बच्चा वन रक्षकको निगरानीमा

काठमाडौं। जानकी–यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ ।

चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह प्रतिनिधिको संयुक्त सहकार्यमा उद्धार गरिएको थियो ।

सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्धार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेको बच्चालाई वन कार्यालयका कर्मचारीले उद्धार गरेका थिए । उक्त चित्तलको बच्चाले दिनमा दुईदेखि तीन लिटरसम्म दूध खाने गर्दछ ।

 

खानाको परिमाण दिनानुदिन बढेको हुँदा उसले खाने दूधको मात्रा पनि बढिरहेको सहायक वन अधिकृत शाहीले बताए । ‘यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, यसलाई पुनः निकुञ्जमा छाड्दा गाउँबस्तीमा आउने र मान्छेको पछि लागेर जानसक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुनसक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नुपर्ने देखिन्छ ।’

डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वनसुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह सोही शाखाले गर्दै आएको छ ।बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने बाँकी समय केजमै राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस