उडानको समयमा परेकाे असिनाले अस्ट्रियन एयरलाइन्सको विमानमा व्यापक क्षति

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १२ : ५२
उडानको समयमा परेकाे असिनाले अस्ट्रियन एयरलाइन्सको विमानमा व्यापक क्षति

भियन्ना । अष्ट्रियन एयरलाइन्सको एउटा विमान असिनाले क्षत विक्षत भएको छ । आकाशमा उडिरहेको समयमा आइतबार असिनाले हिर्काएर विमान क्षतिग्रस्त भएको अस्ट्रियन एयरलाइन्सले भनेको छ ।

यस्तो समयमा विमानमा टर्बुलेन्स पनि हुन सक्छ । घटनाको समयमा विमानमा १७३ जना यात्री र ६ जना क्रु मेम्बर थिए । विमान स्पेनको पाल्मा डे मालोर्काबाट अस्ट्रियनको भियन्ना जाँदै थियो । विमान सुरक्षित रूपमा भियन्ना अवतरण गरिएको छ ।

असिनाले हिर्काएर विमानको अगाडिको भाग भाँच्चिएको, ककपिटको अगाडिको हिस्सा बाङ्गिएको अनि ककपिटको झ्यालको सिसा चर्किएर फुटेको सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरले देखाएको छ । असिनाका कारण विमानमा अन्य क्षति भएको छ कि भनेर चेकजाँच भइरहेको बताइएको छ ।

गएको महिना सिंगापुर एयरलाइन्सको विमान आकाशमा उडिरहेको समयमा टर्बुलेन्समा फस्दा एक जना यात्रीको मृत्यु भएको थियो भने ७० जनाभन्दा धेरै घाइते भएका थिए। त्यसको केही दिन पछि दोहाबाट डब्लिनतर्फ गइरहेको कतार एयरवेजको विमान पनि टर्बुलेन्समा फस्दा १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस