मोदीसँग भएको कुराकानीबारे आजै संसद्‌लाई जानकारी गराउन प्रचण्डलाई रुलिङ होस्: सांसद पन्त

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, ११ : ४६
मोदीसँग भएको कुराकानीबारे आजै संसद्‌लाई जानकारी गराउन प्रचण्डलाई रुलिङ होस्: सांसद पन्त

काठमाडौं। प्रमुख सत्तासाझेदार नेकपा एमालेले हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानी जान्न पाउने संसद्को विशेषाधिकार भएकोले आजै जानकारी गराउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीबारे संसद्लाई जानकारी गराउन माग गरेका हुन् ।मोदीको शपथका लागि आइतबार दिल्ली गएका प्रचण्ड सोमबार स्वदेश फर्केका थिए ।

‘मिडियामा पढ्दा प्रधानमन्त्रीको भ्रमणमा सबै विषयमा कुरा भयो भनेको पाइयो, यो भन्दा पहिलाको भ्रमणमा पनि त्यसै भन्नु हुन्थ्यो । तर नेपाल भारत सीमा, ईपीजीको विषय उस्तै छ । भारतसँग थाती रहेका समस्या समाधानमा के कुरा भयो ? संसद्‌मा जानकारीका लागि सभामुखबाट रुलिङ होस्,’ पन्तले भने ।

विदेश भ्रमणबाट फर्केपछि संसद्लाई प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहेको र संसद्लाई सम्मान गर्ने हो भने आजै संसद्‌मा जानकारीका लागि सभामुखले निर्देशन दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस