पूर्वाधार निर्माण परीक्षण प्रयोगशाला स्थापित गर्न सरकारलाई निर्देशन

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १९ : ४८
पूर्वाधार निर्माण परीक्षण प्रयोगशाला स्थापित गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय गौरवसहितका पूर्वाधार आयोजनाको गुणस्तर परीक्षणका लागि गुणस्तरीय प्रयोगशाला स्थापना गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिको आजको बैठकमा सदस्यहरूले भौतिक पूर्वाधार निर्माणको गुणस्तर कायम गराउने सन्दर्भमा सतर्कता केन्द्र स्वयम् सर्तक हुनुपर्नेमा जोड दिएका थिए । यसैगरी समितिले राष्ट्रिय सतर्कता केन्द्रको काम कर्तव्यसँग सम्बन्धित विधेयक शीघ्र ल्याउन सुझाव दिएको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको जिम्मेवारी पाएको केन्द्रलाई स्वतन्त्र र प्रभावकारी कार्यसम्पादनका लागि समयसापेक्ष ऐन आवश्यक रहेको भन्दै सोसम्बन्धी व्यवस्थाका लागि समितिले सुझाव दिएको हो । यस्तै, नवीनतम प्रविधिको प्रयोगद्वारा अनुगमन गर्ने र सम्पत्ति विवरण व्यवस्थापनको व्यवस्था मिलाउन केन्द्रलाई निर्देश गरेको छ ।

यसअघि सदस्यहरूले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको जिम्मेवारी पाएको केन्द्र आफैँ स्वतन्त्र भएर काम गर्न सक्ने वातावरण हुनुपर्छ भन्दै आर्थिक घोटालामा प्रश्न उठेका र दाग लागेका व्यक्तिलाई नै त्यस्ता संस्थामा नियुक्ति दिन नहुने धारणा राखे ।

बैठकमा सदस्य डा. अञ्जान शाक्यले सरकारका निकायबीच समन्वय, सहकार्य र सहयोग गर्ने पद्धति विकास हुनुपर्ने तथा कर्मचारीले पनि शासक होइन, सेवकको मानसिकताले काम गर्नुपर्ने बताइन् ।

केन्द्रका प्रमुख एवं नेपाल सरकारका सचिव रामआधार साहले केन्द्रमा कार्यरत जनशक्ति र दरबन्दी कम रहेको तथा बजेटको अभावमा काम गर्न चुनौती भएको बताए । 

 

प्रतिक्रिया दिनुहोस