मध्य प्रदेशको हाईकोर्टले गर्‍यो मुस्लिम पुरुष र हिन्दु महिलाको विवाह गैरकानूनी भएको ठहर

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १३ : ४५
मध्य प्रदेशको हाईकोर्टले गर्‍यो मुस्लिम पुरुष र हिन्दु महिलाको विवाह गैरकानूनी भएको ठहर

काठमाडौं। भारतको मध्य प्रदेशस्थित उच्च अदालतले एक निर्णयमा मुस्लिम पुरुष र हिन्दू महिलाको एक विवाहलाई गैरकानूनी ठहर गरेको छ । 

उच्च अदालतले २७ मेमा गरेको फैसलाअनुसार इस्लामिक कानूनले मूर्तिपूजा गर्ने वा आगोको पूजा गर्ने हिन्दू महिलासँग मुस्लिम पुरुषको विवाहलाई अनुमति नदिने र विशेष विवाह ऐनअन्तर्गत पनि त्यस्तो विवाहलाई वैधानिकता दिन नसक्ने बताएको हो ।

तर, विश्लेषकहरूले उच्च अदालतको यो निर्णयको आलोचना गरिरहेका छन् । यो निर्णय विशेष विवाह ऐन कार्यान्वयन गर्ने उद्देश्यविपरीत भएको विश्लेषकहरूको भनाइ छ।

मध्य प्रदेशका एक मुस्लिम पुरुष र हिन्दू महिला जोडीले उच्च अदालतको ढोका ढकढक्याएका थिए। दुवैले विवाहपछि कसैले पनि धर्म परिवर्तन नगर्ने र आ–आफ्नो धर्मलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

यसअघि विशेष विवाह ऐनअन्तर्गत विवाहका लागि विवाह अधिकृतसमक्ष निवेदन दिए पनि दुवैको परिवारको आपत्तिका कारण विवाह दर्ता हुन नसकेको दम्पतीले बताएका छन् । दुवैले आफ्नो विवाह दर्ता गराउनका लागि सुरक्षा उपलब्ध गराउन अदालतसँग आग्रह गरेका थिए ।

पारिवारिक मामिलामा धेरै कानुनविद्हरू मध्य प्रदेश उच्च अदालतको निर्णयसँग असहमत देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस