काठमाडौं। ११ सय मेगावाट क्षमताको सुनकोसी जलविद्युत् आयोजना-२ को खारेज गर्न माग गरिएको छ ।राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ)लगायतका अन्तर्राष्ट्रिय महिला तथा मानवअधिकारवादी सङ्घ संस्थाहरूले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो ।
पत्रकार सम्मेलनमा रामेछापको भटौलीकी ममता माझी, सुकुमाया माझी र पूर्णकुमारी माझीले सुनकोसी -२ जलविद्युत आयोजनाले आफूहरूको पहिचान, संस्कृति र पुर्ख्यौली थातथलो खोसिन लागेको बताए ।
जलविद्युत परियोजनाका कारण मन्थली नगरपालिकाको वडा नम्बर ६ कुनौरी र ७ भटौलीका आदिवासी माझी समुदायका महिलाहरूको जनजीवनमा पार्ने प्रभावको मूल्याङ्कनको निष्कर्ष सार्वजनिक गरिएको थियो ।
निफको संयोजनमा अध्ययन टोलीले महिला मानव अधिकारमा पर्ने असरहरूको मूल्याङ्कन गर्न यही जेठ १५ र १६ गते कुनौरी र भटौलीमा स्थलगत भ्रमण गरेको थियो ।परियोजनाका कारण माझी समुदायका महिलाहरूमा सामाजिक, सांस्कृतिक र मानसिक सङ्कट सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्र सङ्घका ऋणसम्बन्धी स्वतन्त्र विज्ञ र नैरोवी विश्वविद्यालयका प्राध्यापक आतिया वारिस, सेन्टर फर इकोनोमिक एन्ड सोसियल राइट्सकी कार्यकारी निर्देशक डा. मारिया रोन बलसेरा, एसिया प्यासिफिक फोरम अन विमेन ल एण्ड डेभेलपमेन्टकी कार्यक्रम अधिकृत इलोइसा डेलोस रेयस र नेपालका तर्फबाट निफकी उपाध्यक्ष यसो कान्ति भट्टचनले स्थलगत अध्ययनका अनुभवहरू सुनाए ।
वक्ताहरूले विनाअध्ययन प्रकृति उपर गरिएका विकासे परियोजनाले महिलाहरूमा जोखिम बढाइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।नेपाल सरकार, विद्युत विकास विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय विकासका साझेदारहरूसँग माझी महिलाहरूको मानव अधिकार, पहिचान र जीविकोपार्जनका समस्याहरूबारे गम्भीर हुन आग्रह गरेका छन् ।
उनीहरूले कुनौरी र भटौलीका माझी महिलाको सहभागिताको अधिकार, सूचनामा पहुँच र आत्मनिर्णयको अधिकारको अवस्थाबारे अध्ययन गरिएको जानकारी दिए ।प्रस्तावित सुनकोसी-२ एघार सय मेगावाट क्षमताको आयोजना हो ।
सुनकोसी नदीमा रामेछाप नगरपालिका ५ र सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ च्याकुटारमा यो आयोजनको बाँध बनाउन प्रस्ताव गरिएको छ ।यो बाँध ३९० मिटर लामो र १६१ मिटर अग्लो हुने भएकाले सुनकोसी नदी छेउछाउका माझीलगायत हजारभन्दा बढी आदिवासीहरू विस्थापित हुने हुँदा आयोजना खारेजीको माग राख्दै आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १४ : ३७
लेखकबाट थप