प्रदेश सरकार वर्तमान व्यवस्थालाई मजबुत बनाउन अघि बढेको छ : सांसद चौँलागाई

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, १६ : ४६
प्रदेश सरकार वर्तमान व्यवस्थालाई मजबुत बनाउन अघि बढेको छ : सांसद चौँलागाई

हेटौँडा । बागमती प्रदेशसभा सदस्य युवराज चौँलागाईले प्रदेश सरकार वर्तमान व्यवस्थालाई मजबुत बनाउने गरी प्रस्तुत भएको बताएका छन् । प्रदेश सरकारले संघीयतालाई राजनीतिक र आर्थिक रुपले अझ बढी राम्ररी क्रियाशील बनाउने विषयमा सम्बन्धित रहेर अघि बढेको उनले बताए ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद चाैँलागाईले संवैधानिक र सामाजिक दायित्वहरूलाई पूरा गर्ने बारेमा प्रदेश सरकारले दरगामी निर्णय लिएको महसुस भएको बताए । उनका अनुसार देशको संघीयताको वित्तीय पक्षलाई राम्ररी कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत मुखरित गर्ने प्रयत्न गरेको छ ।

‘संघीयताको वित्तीय पक्षलाई राम्ररी कार्यान्वयन गर्ने सन्दर्भमा एउटा उदाहरण प्रदेश आयोजना बैंक । यो एउटा निकै दूरगामी निर्णय हुनसक्छ । यसले संघीयताको वित्तीय पक्षमा देशभरको मोडल सेट गर्न सक्छ । संरचनागत हिसाबले प्रदेश लगानी बोर्डको परिकल्पना नीति तथा कार्यक्रममा भएको छ ।

’ उनले भने, ‘हाम्रो आजको संघीयताको अथवा राजकीय मामिलाको तथा शासन प्रशासनको जुन समस्या हाम्रो समुन्नतिसँग जोडिएको छ । त्यसलाई खासगरीकन एउटा हाम्रो हामीसँग सानो कोष हुने र जनताको मागलाई पर्याप्त ढङ्गले पूरा गर्न नसक्ने समस्या एकातिर हो भने अर्कोतिर हामीसँग भएको जुन कोष छ जुन विनियोजित बजेट छ त्यसलाई सही ढङ्गले राम्ररी कार्यान्वयन गर्न नसक्नु हाम्रो समस्या छ ।’

आर्थिक कोष ठुलो बनाउने कुरामा वा प्रदेश अन्तर्गतका आवश्यकता सरकारले परिकल्पना गरेको उनले बताए । आगामी वर्षदेखि बजेटहरूलाई व्यवस्थित गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रमले मद्दत पुर्याउने उनको भनाई छ । सरकारले बागमती प्रदेशको विश्वविद्यालय गठन भइसकेको र संरचनागत तथा अन्य विषयहरूको प्रक्रिया अगाडि सारेको उनले बताए ।

ग्रामीण क्षेत्रमा आवासीय विद्यालयको अवधारणा अघि सारेर उत्कृष्ट काम गरेको उनले बताए । प्रदेश परिचय नामक पाठ्यपुस्तक बागमती प्रदेशभरि पढाउने विषयले देशभरमा एउटा मोडल सेट गर्ने उनले विश्वास व्यक्त गरे ।

‘नीति तथा कार्यक्रम संघीयता सञ्चालन प्रक्रियाको एउटा लाइफलाइन पनि हो । यही भित्रबाट हामीले यसमा कन्टेन्टहरू थप्ने हो । यसलाई हामीले समृद्धिकरण गर्ने हो किनभने हरेक नीति कार्यक्रम संविधानले प्रदेशलाई दिएको अधिकार हो’ उनले भने ।

दक्षिण एसियाका अन्य देशहरु मध्ये नेपालमा राजनीतिक माहौल राम्रो रहेको उनको भनाई छ । एक दल अर्को दलसँग संवाद गर्नको लागि कुनै मध्यस्थकर्ता चाहिने अवस्था नरहेको उनले बताए । दलीय अस्तित्व स्वीकार गर्न सक्नु नेपालको राजनीतिको एउटा मौलिकता रहेको उनले बताए ।

‘हाम्रो देशमा पनि कुनै समय त्यो प्रक्रियाबाट हामी गुज्रिएको थियो । दलहरूको बीचमा पक्षहरूको बीचमा वार्ता संवाद गराउनको लागि अनेक राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूको एजेन्सीहरूको सहयोग सहभागिता पनि हामीले लिन परेको थियो । तर आज हामी एउटा दलले अर्को दलको नेतृत्व मान्न सक्ने अवस्था बनेको छ । नेपालको संविधान कानुन परम्परा २ लोकतान्त्रिक मूल्य मान्यता विधिभित्र बसेर सत्तापक्ष र प्रतिपक्षलाई कार्यान्वयन गर्न सक्ने ठाउँमा छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस