प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ सांसद

सफल खबर संवाददाता

सोमबार, ०७ जेठ २०८१, १३ : १४
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ सांसद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस