एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?

पत्रपत्रिकाबाट

आइतबार, ०६ जेठ २०८१, ०८ : ०५
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?

काठमाडौ । काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र ( ड्राइभिङ लाइसेन्स) को ट्रायल तथा लिखित दुवै परीक्षा एकाएक रोकिँदा सर्वसाधारण पीडित बनेका छन्।

महिनौं कुरेर बल्लबल्ल ट्रायल दिने पालो आएपनि अनावश्यक रुपमा ट्रायल परीक्षा रोकिएको भन्दै पीडितहरूले तत्काल परीक्षा सञ्चालन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन र छानबिनको बहानामा काठमाडौं उपत्यकाका चारवटा ट्रायल सेन्टर मात्रै बन्द गराएको र अन्य जिल्लाका ट्रायल सेन्टरहरू भने चालु राखेको भन्दै ट्रायल सेन्टरका सञ्चालकहरूले आक्रोश पोखेका छन्। 

गत शुुक्रबार ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी ट्रायल सेन्टरमा नगएपछि एकाएक सो दिनको ट्रायल रोकिन पुगेको थियो। काठमाडौं उपत्यकामा रहेका भक्तपुरको राधेराधे, एकान्तकुना, चाबहिल र गुर्जुधारामा रहेका चारवटा ट्रायल सेन्टरहरू एकाएक बन्द हुन पुगेपछि ट्रायल दिने तयारीमा रहेका २ हजार सर्वसाधारण पीडित बनेका थिए।

सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा रहेका अधिकांश ट्रायल सेन्टरहरू मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएकाले उनीहरूलाई मापदण्डअनुसार सञ्चालन गर्न आवश्यक पत्राचार गरिएको जनाएको छ ।

केन्द्रका सचिव रामआधार शाहले केन्द्रले गरेको अनुगमनमा अधिकांश ट्रायल सेन्टर मापदण्डविपरीत रहेको पाइएकाले मापदण्ड पालना गर्न पत्राचार गरिएको बताए । नेपाल समाचारपत्रमा खबर छ ।