घट्यो पेट्रोल र डिजेलको मूल्य

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, २० : ५३
घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ । 4

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस