औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, ०७ : ४८
औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ

बुटवल । बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका–८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने औषधि बिक्रिवितरण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका–८ मा दर्ता रहेको डिस्कामुनी मेडिकल हलको प्रमाणपत्र राखेर बैदवार फार्मेसी सञ्चालन गर्दैआएका थिए।

डाइसाक्लोमिन–९ हजार चार सय ट्याबलेट, प्रिगेस्टर पाँच सय ४२ ट्याबलेट, प्रिग्रा तीन सय ७० ट्याबलेटलगायतका औषधि चिकित्सकको सिफारिसबिना बिक्रीवितरण गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

प्रहरीले मेडिकल सञ्चालक विकसहित स्याङ्जा जिल्ला, वालिङ् नगरपालिका–१३ बस्ने वर्ष २१ को ओम प्रकाश गैरे, रुपन्देही देवदह नगरपालिका–७ बस्ने  वर्ष २९ को किरण दर्जी र बुटवल उपमहानगरपालिका–२ बस्ने वर्ष ३० को मनिस विकलाईसमेत नियत्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।