ठेकेदारलाई सिडिओको खप्की

जरिबाना तिर्नु पर्दा पनि किन सचेत नभएको ?

बुधबार, १२ पुस २०७४, १९ : ०५
जरिबाना तिर्नु पर्दा पनि किन सचेत नभएको ?

चितवन । चौधौं चितवन हात्ती महोत्सवको उद्घाटन गर्न मंगलबार चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ मुग्लिन सडकखण्ड पुनर्निर्माणको कामबारे चासो व्यक्त गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बुधबार ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर बैठक गरे । मुग्लिन नारायणगढ सडक आयोजना प्रमुख, सुरक्षा निकायका पदाधिकारी, जनप्रतिनिधि र सञ्चारकर्मी सम्मिलित बैठक प्रजिअ भट्टले ठेकेदारका प्रतिनिधिलाई हप्काउँदै भने, जरिबाना तिर्नु पर्दा पनि अझै सचेत किन नभएको समयमै काम सम्पन्न गर्न ?
नारायणगढ मुग्लिन सडक आयोजनाले ठेक्का सम्झौता गर्दा तोकिएको समयमा तोकिएको काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट ७५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो । पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनी जरिबानामा परेका थिए । प्रजिअ भट्टको भनाई यी दुई निर्माण कम्पनीप्रति लक्षित थियो ।
बैठकमा कार्य प्रगति विवरण सुनाउँदै मुग्लिन नारायणगढ सडक आयोजना प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले अहिलेसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनका अनुसार, आँपटारीदेखि मुग्लिनसम्मको तीन खण्डमा रहेको ठेक्कामध्ये दुई नम्बरमा ७४, एक नम्बरमा ६८ र तीन नम्बरमा ६१ प्रतिशत काम सम्पन्न भएको छ । आयोजना प्रमुख यादवका अनुसार, सडकखण्डको १६ किलोमिटर, २२ किलोमिटर, २९ किलोमिटर र ३३ किलोमिटर क्षेत्रमा पहाड काट्ने काम बाँकी छ ।
बैठकमा सहभागी ठेक्का नम्बर एकका प्रतिनिधि प्रभु जोशी, ठेक्का नम्बर दुईका प्रतिनिधि रविन्द्र श्रेष्ठ र ठेक्का नम्बर तीनका प्रतिनिधि शिशिर कन्दङ्वाले सडक बिस्तारका लागि पहाड काट्न बाँकी काम गर्न सवारी आवागमन दैनिक आठ घण्टा बन्द गर्नुपर्ने माग गरेका थिए । उनीहरुको माग सम्बोधन गर्दै प्रजिअ भट्टले राति दस बजेदेखि बिहान चार बजेसम्म उक्त सडकमा सवारी आवागमन बन्द गराउन सक्ने बताए । दिउँसो भने आवश्यकता अनुसार सडक एकातर्फी गरिने उनको भनाइ थियो ।
 

प्रतिक्रिया दिनुहोस