काठमाडौँ र भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना, चार जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १२ : ३९
काठमाडौँ र भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-४ धुम्बराही चोकमा बा.प्र.०२-०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा.७५ प १६५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सृजना नगरस्थित सडकमा बाग्मती प्रदेश नम्बर ०१-०३० च.०९९५ नम्बरको कारमा बा. ७३ प २८३६ नम्बरको स्कुटर ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-४ घर भई काठमाडौं माईतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुरठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सिन्धुलीको दुधौली नगरपालिका-९ दुधौली बजारमा दुधौलीबाट खोरभन्ञ्याङतर्फ जाँदै गरेको बा.३८ प ५९५५ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा चालक दुधौली नगरपालिका-५ सिर्थौली बस्ने ३५ वर्षीय रोशन अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उदयपुरस्थित कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले सोही नगरपालिका-१४ बस्ने २३ वर्षीया रस्मिता सुनुवारलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी रस्मिता दुधौलीस्थित हेम्स हस्पिटलमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिका-३ मालिवारा चोकस्थित सडकमा जलेश्ववरबाट भिठ्ठामोडतर्फ जाँदै गरेको आरजे २३ युबि ५८४६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त कारको ठक्करबाट घाइते भएका अर्को साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।