परीक्षा नियन्त्रण कार्यालयको यात्रा ८५ वर्षमा आएर टुङ्गियो

पत्रपत्रिकाबाट

शनिबार, ०६ असोज २०७५, ०८ : ३३
परीक्षा नियन्त्रण कार्यालयको यात्रा ८५ वर्षमा आएर टुङ्गियो

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयको यात्रा ८५ वर्षमा आएर टुङ्गिएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत ल्याउने निर्णयपछि पनिकालाई अब इतिहासमा मात्र पढ्न पाइने भएको हो । पनिकाको साइन बोर्डलाई झिकेर त्यहाँ राष्ट्रिय परीक्षा बोर्डको बोर्ड झुण्ड्याइएको छ ।
१९९० साल कात्तिक १६ गते सनद जारी गरी नेपाल सरकार शिक्षा विभागअन्तर्गत एसएलसी परीक्षा बोर्ड स्थापना गरिएको थियो । पछि कन्ट्रोलर अफिस नामकरण गरिएको थियो भने २००७ पछि पुनः परीक्षा नियन्त्रण कार्यालय बनाइयो । 
पनिकालाई सानोठिमीस्थित भवनमा २०४४ सालमा सारिएको थियो । पनिकामा ५९ कर्मचारीको दरबन्दी रहे पनि हाल ४० जना कर्मचारी छन् र उनीहरूलाई अर्काे व्यवस्था नहुन्जेलका लागि भनेर काजमा खटाइएको छ । 
परिक्षा बोर्डका सूचना अधिकारी नारायण पोखेरेलले साविकको पनिकालाई अब शैक्षिक अभिलेखालयकारुपमा रुपान्तरण गरिने बताए । शिक्षा मन्त्रालयका पदाधिकारीहरूका अनुसार पनिका नरहे पनि त्यहाँ कक्षा १०, ११ र १२ का मार्कलेजर राख्ने तथा प्रमाणपत्र जारी गर्ने अड्डाका रुपमा विकास गरिनेछ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस