जनप्रतिनिधि आएपछि रुप फेर्दै वीरगञ्ज

रासस

आइतबार, १६ बैशाख २०८१, १४ : ०८
जनप्रतिनिधि आएपछि रुप फेर्दै वीरगञ्ज

 वीरगञ्ज  । डेढ दशकअघिसम्म वीरगञ्जको मुख्य सडकमा फोहोरमैलाका डंगुर र मरेका पशु चौपाया थुप्रिएको हुन्थ्यो । मुख्य सडक भएर यात्रा गर्ने जो कोहीले पनि नाकमुख छोप्दै हिँड्नुको विकल्प थिएन ।

तर, अहिले परिस्थिति फेरिएको छ । विसं २०७४ मा स्थानीय तहको निर्वाचनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उनीहरुले आफ्नो ठाउँबाट सुधार गर्नेतर्फ अग्रसर देखिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा संविधानसभाका सदस्य ओमप्रकाश शर्माले वीरगञ्ज सहरमा क्रमशः सुधारको छनक देखिएको अनुभव गर्न थालेका छन् । ‘पहिला त सडकमै मरेका गाई तथा कुकुर उठाउन पनि नगरपालिकाकै प्रमुख गुहार्नुपर्थ्यो’, उनले विगत स्मरण गरे, ‘स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै वीरगञ्जमा धेरै खालका सुधार देखिएका छन् ।’

वीरगञ्ज महानगरपालिका–१० घडीअर्वाका राधेश्याम गुप्ता पनि महानगरले विगतमा भन्दा अहिले फोहोरमैला सरसफाइमा ध्यान दिन थालेको अनुभव गरेका छन् ।‘पहिला त महानगरको फोहोरमैला सङ्कलन गर्ने ट्रयाक्टर आउने कुनै भर नै हुँदैन्थ्यो । आजभोलि त दैनिक दुईपटक फोहोरमैला सङ्कलन गर्ने ट्रयाक्टर आइरहेको छ । पक्कै पनि पहिलाभन्दा अहिले सरसफाइ भएको देखिन्छ’, उनले भने, ‘अहिले त यहाँ जथाभावी रुपमा फोहोर फ्याँक्न पनि पाइँदैन । फोरमैला फालेको देख्यो कि नगरपालिकाले जरिवाना समेत तिराइहाल्छ ।’ वीरगञ्ज महानगरले बजार क्षेत्रमा बिहान र साँझ दुई पटक र ग्रामीण क्षेत्रमा भने दैनिक एक पटक फोहरमैला सङ्कलन गर्दै आइरहेको छ ।

नगर प्रमुख राजेशमान सिंहले नेतृत्व सम्हालेसँगै महानगरले जथाभावी सडकमा फोहोरमैला फ्याँक्ने विरुद्ध कठोर नीति अपनाउँदै आइरहेका छन् । यसअघिका जनप्रतिनिधिले पनि फोहोरमैला व्यवस्थापन गर्न खोजे पनि कडा खालको दण्ड जरिवाना कार्यान्वयन गर्न सकिरहेका थिएनन् ।

महानगरले २०७९ पुस १७ गतेदेखि जथाभावी फोहोरमैला फ्याँक्नेलाई जरिवाना गर्ने व्यवस्था सुरु गर्‍यो । महानगरको सरसफाइ व्यवस्थापन शाखाका अनुसार २०७९ पुस १७ देखि २०८० चैत मसान्तसम्मको अवधिमा फोहोरमैला फ्याँक्ने सरकारी तथा निजी सङ्घसंस्था र व्यक्तिगत गरेर नौ सय ९२ जनालाई कारवाही गरी २७ लाख ८१ हजार १०५ रुपैयाँ सङ्कलन गरेको छ ।

वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले जभाभावी फोहोरमैला फ्याँक्नेविरुद्ध कठोर नीति अँगाल्दै आइरहेको बताउँछन् । ‘जथाभावी फोहोरमैला फ्याँक्नेलाई जुनसुकै हालतमा पनि कारवाहीको दायरामा ल्याउँदै आइरहेका छौं’, उनले भने, ‘फोहोरमैला व्यवस्थापनको विषयमा मेयरसाबले जुनसुकै राजनीतिक हस्तक्षेप आए पनि मान्नुहुन्न । त्यसैले हामीलाई काम गर्नका लागि धेरै सहज वातावरण बनिरहेको छ ।’

महानगरले महानगरक्षेत्रका सर्वसाधारण घरधनीबाट फोहोरमैला सङ्कलन गरेवापत कुनै शुल्क पनि लिदैंन । तर, व्यवसायिक ढंगले चलेका व्यवसायी, उद्योगी र सरकारी निकायसँग भने फोहोरमैलाको मात्रा हेरेर तीन सयदेखि तीन हजार रुपैयाँसम्म लिदै आइरहेको छ ।

वीरगञ्ज महानगरले फोहोरमैला सङ्कलन र व्यवस्थापनको जिम्मेवारी पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएको छ । महानगर र जेभीबीच २०७६ जेठ २ गते पाँच वर्षका लागि फोहोरमैला व्यवस्थापनको सम्झौता भएको थियो ।

सो सम्झौताअनुसार वार्षिक रुपमा फोहोरमैला सङ्कलन गरेवापतको शुल्क पनि फरक–फरक निर्धारण गरिएको छ । अहिले महानगरले फोहोरमैला व्यवस्थापन गरेवापत निजी क्षेत्रलाई वर्षेनी पाँच करोड ७२ लाख रुपैयाँ उपलब्ध गराउँदै आइरहेको छ ।

वीरगञ्ज महानगरका नगरप्रमुख सिंह महानगरले वीरगञ्जको सबै क्षेत्रमा सुधारको सुरुआत मात्रै गरेको बताउँछन् । ‘हामीले वीरगञ्जलाई सुधार गर्नका लागि सुरुआतको थालनी मात्रै गरेका छौँ । त्यसका प्रभाव देखिन लागि अझै केही समय पक्कै लाग्नेछ’, उनले भने, ‘हामीले सरसफाइमा केही राम्रो सुरुआत गरेका छौँ तर व्यक्तिगत रुपमा हेर्दा यसबाट सन्तुष्ट हुने अवस्था छैन । केबल वीरगञ्ज महानगरका मुख्य सडकहरु मात्रै चिटिक्क सफा पारेर भएन् । यहाँका शाखा तथा भित्री सडकहरु पनि मुख्य सडकजस्तै चिटिक्क र आकर्षक हुनुपर्छ भनेर नै त्यसको लागि लागिपरेका छौं ।’

वीरगञ्जका नगरबासीहरु भने वीरगञ्जको बजार क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा र सिर्सिया नदी सरसफाइमा महानगरको ध्यान नपुगेको टिप्पणी पनि गर्छन् । त्यति मात्रै होइन, खुल्ला नालीको कारणले लामखुट्टे र दुर्गन्ध पनि बढिरहेको गुनासो गर्छन् । नगरप्रमुख सिंहले वीरगञ्जको सुरुआती चरणदेखि नै वीरगञ्जको ढल निकासको नाली खुल्ला भएकाले पनि व्यवस्थापन गर्नका लागि स्रोतको अभाव रहेको बताउँछन् ।

‘हामीले यो वर्ष मात्रै नौ किलोमिटर खुल्ला नाली सरसफाइ गरेका छौं’, उनले भने, ‘खुला ढल निकासले निकै चुनौती थपिरहेको छ । यसका लागि कम्तिमा पनि तीन/पाँच अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेका छौँ । सो निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग माग राख्दै आइरहेका छौँ ।’

नगर प्रमुख सिंहले सिर्सिया नदीको प्रदुषण न्यूनीकरण गर्ने सम्बन्धमा केही दिनभित्रै ठोस निर्णय गर्ने दाबी गरे । महानगर सरसफाइ शाखाका प्रमुख मियाँले पनि ग्रामीण क्षेत्रका जनतामा सरसफाइसम्बन्धी चेतनास्तर कम हुँदा पनि सबै खालको फोहोरमैला नालीमा फ्याँक्ने समस्या रहेको बताए ।

वीरगञ्ज महानगर १३२ दशमलव २ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । महानगरमा दैनिक ५५ देखि ६५ मेट्रिक टन फोहोरमैला सङ्कलन हुने गर्छ । महानगरको फोहोरमैला निजी कम्पनीले दैनिक २५ ट्रयाक्टर तथा तीनवटा ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइरहेको छ ।

महानगर क्षेत्रबाट निस्कने फोहोरमैलाको व्यवस्थापन भने पर्सा र बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याडफिल्ड साइडमा हुँदै आइरहेको छ ।

महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभीका सञ्चालक शिव गुप्ताले महानगरमा उदाहरणीय ढङ्गले फोहोरमैला व्यवस्थापन गर्दै आइरहेको दाबी गरे ।

उनका अनुसार दैनिक २७५ जना कर्मचारी खटाएर फोहोरमैलाको व्यवस्थापन हुँदै आइरहेको छ । महानगरका ३२ वटै वडा कार्यालयले प्रत्येक वडामा पाँच जनाका दरले ज्यालादारीमा सरसफाइ कर्मचारी नियुक्त गरेर बाह्रैमास नाली तथा मङ्गल सफा गर्दै आइरहेको जनाएको छ ।

उज्यालो वीरगञ्जले सार्थकता पाउँदै

महानगरले सरसफाई मात्रै, नभएर ‘उज्याँलो वीरगञ्ज’ कार्यक्रमलाई पनि उत्तिकै प्रथामिकता साथ अघि बढाएको छ । नगरप्रमुख सिंहले जिम्मेवारी सम्हालेसँगै व्यक्तिगत रुपमा उज्यालो वीरगञ्ज कार्यक्रमबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।

मैलै नगरप्रमुखको जिम्मेवारी लिएसँगै व्यक्तिगतरुपमा पनि चित्त बुझेको काम भने उज्यालो वीरगञ्जको काममा भने सन्तुष्ट रहेको छु । पहिलाका जनप्रतिनिधिले उज्यालो वीरगञ्जको अभियान सुरुआत गर्ने भने तापनि अध्याँरो वीरगञ्जमा परिणत भइसकेको थियो ।

‘अहिले वीरगञ्जका ३२ वटै वडाको जुनसुकै गल्लीमा उज्यालो छ, उज्यालो वीरगञ्ज कार्यक्रमले सार्थकता पाएको छ’, उनले भने, ‘उज्यालो वीरगञ्ज कार्यक्रमलाई सार्थकता दिन यहाँका कर्मचारी ३६५ दिनै खटिएर लागिपरेका छन् ।’

महानगर विद्युत् शाखाका इन्जिनियर राजीवकुमार उपाध्यायले महानगरले उज्यालो वीरगञ्ज कार्यक्रम अन्तर्गत १३ हजार तीन सय २२ वटा पोलमा सडक बत्ती जडान गरेको बताए ।

‘महानगरले करिब रु २३ करोड लागतमा अहिले ३२ वटै वडामा उज्यालो वीरगञ्ज अभियानलाई अघि बढाएको छ’, उनले भने, ‘हामीले सहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण क्षेत्रमा पनि उत्तिकै प्राथमिकता दिँदै उज्यालो वीरगञ्ज कार्यक्रमलाई अघि बढाउँदै आइरहेका छौँ ।’ महानगरका अनुसार अब करिब तीन हजार पोलमा मात्रै बत्ती जडान गर्न बाँकी छ ।

महानगरले स्ट्रिपलाइन (विभिन्न रङ्गका लाइट) र सडक बत्ती जडान गर्दै आइरहेको छ । यो लाइटको जडानको जिम्मेवारी भने सूर्य/उदय/टप्सन इनर्जी जेभीले प्राप्त गरेको थियो । पछिल्लो समय वीरगञ्जका धार्मिक तथा पर्यटकीयस्थलमा विभिन्न रङ्गीचङ्गीका बत्तीहरु पनि राखिएका छन् । घण्टाघर, शङ्कराचार्य गेट, भानुचोकमा पनि राखिएका छन् ।

यति मात्रै होइन, वीरगञ्जका धार्मिक स्थलहरु गहवामाई मन्दिर, रामजानकी मन्दिर, गीता मन्दिर, पशुपतिनाथ मन्दिर, राधेमाई, शिव मन्दिर, लालपर्सा वीरगञ्जका मुख्य सडकहरु बाइपास, रेल्वे रोड, लिंकरोड, घण्टाघर–रक्सौल सडक खण्डलगायतका सबैजसो स्थानमा विभिन्न रङ्गका लाइट जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस