नयाँ तरकारी बजारमा चहलपहल, प्रचण्डले उद्घाटन गर्ने

विहीबार, ०४ असोज २०७५, १८ : ००
नयाँ तरकारी बजारमा चहलपहल, प्रचण्डले उद्घाटन गर्ने

नारायणगढ । निजी क्षेत्रको लगानीमा निर्माण भएको भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा स्थापना भएको फलफूल तथा तरकारीको थोक बजारमा चहलपहल बढेको छ । यसअघि नारायणगढको लायन्सचोकमा रहेको तरकारी बजार साँघुरो भएपछि भरतपुर महानगरपालिकाको समन्वयमा व्यवसायीहरुको लगानीमा क्षेत्रपुरमा तरकारीको थोक बजार सञ्चालनमा ल्याइएको हो । 

१४ करोड लगानीमा निर्माण भएको तरकारीको थोक बजारमा विस्तारै चहलपहल बढ्न थालेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिनुभयो । तरकारी थोक बजारको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबाट असोज ७ गते बिहान ११ बजे हुने उहाँले बताउनुभयो । 

भरतपुर महानगरपालिकाले लायन्चोकको फलफूल तथा तरकारी थोक बजार हटाउने भएपछि व्यवसायीले आफ्नै पहलमा नयाँ तरकारी बजार निर्माण गरेका हुन् । व्यवसायीले कृषि प्रवर्द्धन बजार विकास प्रालि कम्पनी गठन गरेर सेयरमार्फत रकम संकलन गरी तीन बिघा जग्गामा १६ वर्षको लागि लिजमा लिएर निर्माण गरेका हुन् । तरकारी बजारभित्र सडक कालोपत्रे बाहेकका सबै काम सकिएको अध्यक्ष थिरप्रसाद धितालले  जानकारी दिनुभयो । 

यहाँ तरकारी तथा फलफूलको दररेट राखिएको डिजिटल डिस्प्ले र सूचना पार्टी सबै हुने उहाँको भनाइ थियो । 
तरकारी बजारमा दुई रेष्टुरेण्ट, शौचालय, तथा खानेपानी, बिजुलीको समेत व्यवस्था छ । किसानले आफ्नो उत्पादन बजारमा लगेर सिधै उपभोक्तालाई बिक्री गर्न पाउनेछन् । किसानका लागी १४ वटा सटर निःशुल्क उपलब्ध गराइएको अध्यक्ष धितालले बताउनुभयो । 
लायन्सचोकको तरकारी बजारमा १६४ वटा सटर रहेको थियो भने नयाँ बनेको तरकारी बजारमा २१७ वटा स्टल छन् । व्यवसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ र किसानका लागि १४ वटा सटर रहने छन् ।
२०५० सालदेखि सञ्चालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको छ । नयाँ बजारमा दैनिक २ करोडको कारोबार हुने अपेक्षा व्यवसायीको छ । साँघुरो स्थानमा रहेको लायन्सचोकको थोकबजारमा किसानले कृषिउपज थोरै मात्र ल्याउने गरेका थिए ।
१६ जिल्लाबाट चितवनमा तरकारी आउने र ती तरकारी काठमाडौंसहित, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला बिक्रीका लागी लैजाने गरिएको छ । लायन्सचोकमा खाली भएको तरकारी बजारमा भरतपुर महानगरपालिकाले बहुतले बहुउद्देश्यीय भवन निर्माण गर्ने छ । 

‘नारायणगढको लायन्सचोकको पुरानो तरकारीको थोक बजारमा बहुउद्देश्यीय भवन बनाउने प्रक्रिया अघि बढाइएको छ’ महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार लायन्सचोकका तरकारी बजार क्षेत्रपुरमा सरेको हुनाले अब बहुउद्देश्यीय भवन बनाउने प्रक्रिया पनि अघि बढ्नेछ । 

प्रतिक्रिया दिनुहोस