मानव अधिकार समितिको सभापतिमा पोखरेल निर्विरोध

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०७५, १६ : ५७
मानव अधिकार समितिको सभापतिमा पोखरेल निर्विरोध

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल निर्विरोध भएका छन् । बिहीबार भएको उम्मेद्वारी दर्ता कार्यक्रममा पोखरेलको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध भएका हुन् ।
समितिको नेतृत्वको दौडमा नेकपाका केही सांसद भएपनि अन्तिम समयमा पोखरेल सर्वसम्मत भएका हुन् । कानुन व्यवसायी पोखरेल मानव अधिकारका विषयमा जानकार भएकाले यस समितिको नेतृत्व पाएका हुन् । समितिमा पूर्वसभामुख सुवास नेम्बाङ, नेकपाका प्रमुख सचेतक देव गूरुङ र राजपाका नेता लक्ष्मणलाल कर्णसहित २३ जना सदस्य छन् ।
प्रतिनिधि सभामा शुक्रबार निर्वाचनबाट अन्य दश वटा विभिन्न समितिका सभापति चुन्ने कार्यक्रम तय भएको छ । प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व रहने छ । नेपाली काँग्रेसले एक र संघीय समाजवादी फोरमले एक वटा समितिको सभापति पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस