कर्णालीमा पुग्यो पाठ्यपुस्तक

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, ११ : ५३
कर्णालीमा पुग्यो पाठ्यपुस्तक

कालीकोट । कर्णाली प्रदेशको हिमाली जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । बिगतका प्रत्येक वर्ष वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगी उनीहरू परीक्षामा सामेल हुनुपर्ने बाध्यता थियो। तर, यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुग्दा विद्यार्थी हर्षित छन्।

 कालीकोटमा शैक्षिक सत्र सुरु हुनुअघि नै पहिलोपटक पाठ्यपुस्तक पुगेको शिक्षा समन्वय एकाइ प्रमुख प्रकाशचन्द्र धितालले बताए। उनले भने, ‘चालु आर्थिक वर्षको शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु भए पनि चैत महिनामै पाठ्यपुस्तक कालिकोट पुग्नाले समयमै विद्यार्थीको हातमा पनि पाठ्यपुस्तक पुग्नेछ। पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्न पत्राचार गरेका छौं।’ जनक शिक्षा सामग्री केन्द्र सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताए। 

उनले भने, ‘चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका हुन्। योभन्दा अगाडिका वर्षमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरूले सास्ती खेप्नुपर्ने अवस्था थियो। खाँडाचक्र नगरपालिकाअन्तर्गत जनजीबन मावि ताडीमा कक्षा ९ मा अध्ययनरत छात्रा सिर्जना सिम्खाडाले भनिन्, ‘यो वर्ष समयमै किताब हातमा पर्ने भो, गएको वर्ष त किताब नै पाएनौं। किताब नपाएकै कारण परीक्षामा सहभागी हुँदा नपढेको विषय साह्रै गाह्रो लाग्यो। 

कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्षको शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै यो वर्ष कर्णालीमा पाठ्यपुस्तक पु¥याइसकिएको छ भने कतिपय ठाउँमा पु¥याउने क्रम जारी छ। विशेष गरी यो वर्ष पहिलोपटक कर्णालीका हिमाली जिल्लाहरूमा समयमै पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। 

जनक शिक्षाका अनुसार हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालीकोटमा पाठ्यपुस्तक समयमै पुगेको छ। नेपालगन्ज कार्यालयले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर किताब वितरण गरेको छ। ्उक्त कार्यालयले कर्णालीका हुम्ला, डोल्पा, सल्यान र रुकुम पश्चिमलाई हेर्दै आएको छ। डोल्पामा १ हजार ५ सय सेट, सल्यानमा ५ हजार ७ सय सेट किताब पुगेको छ भने रुकुम पूर्व र रुकुम पश्चिममा गरी ५ हजार ६ सय सेट पुस्तक पुगेको छ। 

यस्तै जनक शिक्षाको प्रादेशिक कार्यालय वीरेन्द्रनगर सुर्खेतले मुगु, जुम्ला, कालीकोट, दैलेख, सुर्खेत र जाजरकोटलाई किताब पु¥याउँछ। कार्यालयका अनुसार कालीकोटमा यो वर्ष सुरुमै २ हजार ५ सय सेट पुस्तक पुगेको र कालिकोटलाई ३ हजार ७ सय बराबर सेट किताब आवश्यक पर्ने शिक्षा समन्वय एकाइ प्रमुख धितालको भनाइ छ। यस्तै सुर्खेत कार्यालयका प्रमुख भैरवबाबु पन्तले केही जिल्लामा ६० प्रतिशत त केहीमा ५० प्रतिशत किताब सम्बन्धीत जिल्ला र पालिकामा पुगिसकेको बताए। 

उनले भने, ‘जाजरकोटमा पनि ३ हजार सेट किताब पुगिसकेको छ भने बाँकी पठाउने काम भइरहेको छ। यो वर्ष मात्रै सुर्खेत कार्यालयबाट जिल्ला तथा पालिकामा ५६ पुस्तक व्यवसायीले किताब पु¥याएका छन्। विगतका वर्षहरूमा कर्णालीका विद्यार्थीले पूरा सेट किताब कहिल्यै नपाएको उनीहरूको गुनासो छ। गएको वर्ष कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाएर नै वार्षिक परीक्षामा सहभागि भएको देखिन्छ। 

शिक्षामा परिवर्तन ल्याउन कर्णालीका स्थानीय तहले विभिन्न शिक्षा नीति तथा कार्यविधि बनाएको देखिन्छ। कार्यविधिमा टेकेर शिक्षामा उथलपुथल ल्याउने भने पनि समयमै पाठ्यपुस्तक पु¥याउन नसक्नु स्थानीय तहको कमजोरी भएको सामाजिक अभियन्ता हिक्मतजंग मल्लले बताए। उनले भने, ‘संघीयतापछि कतिपय स्थानीय तहले शिक्षाको अधिकार आफैं लिएका छन्।’