सरकारी निसान छापमै गलत नक्साको प्रयोग, यस्तो नक्सा बनाउनेलाई खोई कारबाही ?

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०७५, १३ : २१
सरकारी निसान छापमै गलत नक्साको प्रयोग, यस्तो नक्सा बनाउनेलाई खोई कारबाही ?

काठमाडौं । आफूलाई राष्ट्रवादी भन्ने ओली सरकारले आधिकारिक नक्सा प्रयोग नगरी हचुवाका भरमा तयार पारिएका नक्सा प्रयोग गरेर चरम लापरवाही गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले नेपालको गलत नक्सा प्रयोग नगर्न र प्रयोगमा रहेका भए तत्काल हटाउन सबै सरकारी कार्यालयलाई निर्देशन दिएको छ । सरकारको निशान छापदेखि विभिन्न सरकारी कार्यालयका लेटर हेडमा समेत नेपालको पश्चिमोत्तर सिमानाको ठूलो भूभाग गायब पारिएका गलत नक्सा प्रयोग भइरहेको तथ्य खुलासा भएको छ ।   
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्सा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरिएको बताएपनि कार्यान्वयनमा भने आउन सकेको छैन । विभिन्न सङ्घसंस्थाले विभिन्न वेबसाइट तथा विद्युतीय प्रविधिबाट बनाएको नक्सा त्रुटिपूर्ण पाइएको छ । देशको अस्तित्वलाई कमजोर बनाउने उद्देश्यले प्रकाशन गरिएका नक्सा खरिद बिक्री गर्नेलाई दण्डित गर्ने कानुनी प्रावधान भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सरकार मातहत तथा अन्य सम्पूर्ण कार्यालयमा आधिकारिक नक्सा प्रयोग भए/नभएको छानबिन गर्न कार्यदल गठन गर्ने भन्दै पन्छिने गरेका छन् । उनी निर्वाचन आयोगमा विलाशी सवारी किन्न नपाएको भन्दै रिसाएर निस्केका सचिव हुन् ।  नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले गत वर्ष असोज २ गते ‘गोरखापत्र’ले प्रकाशनमा ल्याएको नक्सामा कालापानी छुट्न गएको र पछि विभागले खोजी गरेपछि यो विषयमा सच्याइएको जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयमै रहेको हेलो सरकारले प्रयोगमा ल्याएको निशान छापमै गलत नक्सा थियो । अन्य सरकारी कार्यालयका लेटरहेडदेखि निशान छापमा समेत कालापानी भनिने दार्चुलाको पश्चिमोत्तर भूभाग हटाएर तयार पारिएको गलत नक्सा प्रयोग भएको पाइएको थियो । यो लगत्तै हेलो सरकारले गलत नक्सा हटाएको छ भने अन्य कार्यालयलाई पनि तत्काल सच्याउन निर्देशन भएको छ । इन्टरनेटमा निशान छाप र नक्सामा कालापानी भनिने तिल्सी, टिङ्कर भञ्ज्याङ, छ्याप्लाङभञ्ज्याङ लगायत ठूलो भूभाग नै नभएका गलत नक्सा छ्याप्छ्याप्ती पाइन्छन् ।  सरकारी निकायले समेत त्यसबारे ख्यालै नगरी प्रयोगमा ल्याउँदा सीमाना जस्तो संवेदनशील विषयमा भ्रम सिर्जना हुने र यस्ता नक्साको प्रयोग रोक्न चनाखो बन्नुपर्ने सीमाविद् बताउँछन् ।
इन्टरनेटमा गलत नक्सा कहिले र कहाँबाट अपलोड भयो भन्ने तथ्य अहिलेसम्म खुल्न सेकेको छैन । नापी विभागले भने गलत नक्साको प्रयोग सच्याउन सरकारी कार्यालयलाई पटकपटक जानकारी गराउँदा पनि गल्ती दोहोरिइरहेको जनाएको छ । विभागले यसबारे गृह मन्त्रालयमा पनि जानकारी गराएको छ । निर्विवाद रुपमा नेपालभित्रै पर्ने भूभागलाई चोइटाइएको नक्साको प्रयोग र प्रसार कहाँबाट भइरहेको छ भन्ने खोजी गरी तत्काल यो क्रम रोक्न सरकार लाग्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस