राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १२ : १७
राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

११ वैशाख २०८१ देखि १० कात्तिक २०८१ सम्म ६ महिनाको लागि उक्त रकम मुद्दती निक्षेपमा  लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । उक्त मुद्दती निक्षेप लिन चाहने बैंकले आवश्यक रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत ४ वैशाखभित्र राष्ट्र बैंकमा पेस गर्न आह्वान गरिएको छ ।

कुल लगानी गर्ने निक्षेप मध्ये ३ अर्ब ४४ करोड वाणिज्य बैंकमा लगानी गर्ने जनाएको छ ।  त्यस्तै ६४ करोड ५० लाख विकास बैंकमा  र २१ करोड ५० लाख फाइनान्स कम्पनीमा  लगानी गर्ने भएको हो ।

निष्क्रिय कर्जा ५ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थाले मात्रै लगानी गर्न सक्नेछन् । न्यूनतम पूँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको, सीडी रेसियो, खुद तरल सम्पत्ति तोकिएअनुसार कायम गरेको हुनुपर्नेछ ।