आगलागीबाट कर्णालीमा एक साताभित्रै ६ जना को मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १४ : ११
आगलागीबाट कर्णालीमा एक साताभित्रै ६ जना को मृत्यु

काठमाडौं।  कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो ।डोल्पाको ठूलीभेरी नगरपालिका ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो ।

 

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ ।गत बिहीवार आगलागी घटनामा परेका तीनै जना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । 

 

 

गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै जना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नम्बर ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकहरूको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो ।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एक जनाको जलेर मृत्यु भएको छ । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीवार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताए । राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो । सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए ।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए ।भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन् । एक सय २० वटा भेडामध्ये   ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मुगुको छायानाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ । आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ ।हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस