कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु लर्को लागेर विदेश भ्रमणमा

पत्रपत्रिकाबाट

विहीबार, ०४ असोज २०७५, ०७ : ०९
कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु लर्को लागेर विदेश भ्रमणमा

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन् । 

उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन् । उपराष्ट्रपति पुन ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन गएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले विदेश भ्रमणमा छन् । नेकपाका सचिवालय सदस्यसमेत श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ २९ गते त्यसतर्फ गएका हुन् । उनको टोली फर्केको छैन । नेता नेपाल साताव्यापी विदेश भ्रमणका क्रममा बुधबार घानातर्फ लागेका हुन् । उनीसँगै नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल पनि गएकी छिन् । घानाको सोसलिस्ट पार्टीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका नेपाल र भुसाल ९ गते स्वदेश फर्कनेछन् ।

कांग्रेस वरिष्ठ नेता पौडेल दुई साता लामो युरोप भ्रमणमा छन् । पार्टीका जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन युरोप गएका पौडेल ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अमेरिका भ्रमणमा छन् । एक महिना लामो भ्रमणका लागि उनी पत्नी हिसिला यमीसहित अमेरिका गएका हुन् । प्राज्ञिक भ्रमण भन्दै अमेरिका भ्रमणमा निस्केका भट्टराई २२ गते स्वदेश फर्कनेछन्। परराष्ट्रमन्त्री ज्ञवाली पनि विदेश भ्रमणमा छन् । उनी भियनामा हुने आइएइएको महासभामा भाग लिन त्यता गएका हुन् । भदौ ५ मा नेपाल फर्कने उनी ६ गते प्रधानमन्त्री ओलीको टोलीसँगै अमेरिका जानेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ६ दिने विदेश भ्रमणका लागि चीन गएका छन् । उनी ६ गते स्वदेश फर्कंदैछन् । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि चीन भ्रमणमा छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि बुधबार चीन गएका छन् । सभामुख कृष्णबहादुर महरा केही दिनअघि चीनको भ्रमण गरेर फर्केका छन् ।
कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने सरकारका मन्त्री भने लर्को लागेर विदेश भ्रमण गरिरहेका छन् । आजको नागरिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस