काठमाडौँसहित छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १६ : ४७
काठमाडौँसहित छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर मुनि भरैव बस पकेट नजिक सडकमा तिनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।उता सप्तरीको हनुमाननगर कंकालिन नगरपालिका-१ सखरदहीस्थित सडकमा प्रदेश ३-०१-०२२ च १३५० नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सोही नगरपालिका-१२ बस्ने सलमान अलीको छोरा ५ वर्षीय अहमद शेखको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ९ जनाको  न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी गुल्मीको चन्द्रकोट गाउँपालिका-७ ठुला रघुस्थित  सडकमा लु.४ त ७७९० नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय ढक बहादुर घर्तीको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रूपन्देहीको मायादेवी गाउँपालिका-१ ऐरौलीस्थित सडकमा रोकी राखेको लु.३ त ६७३३ नम्बरको ट्याक्टरमा लु.३९ प ४१३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ महदेवा बस्ने ३० वर्षीय लक्ष्मण कहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य ३ जना उपचार पश्चात डिष्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

महोत्तरीको सोनमा गाउँपालिका-३ खखनास्थित सडकमा बीआर ३० क्यू ४३८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई  शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सर्लाही पर्सा गाउँपालिका बस्ने ३३ वर्षीय आलम साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडमी पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको थप उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस