लाखे नाचको संरक्षण गर्न यस्तो उपाय दिए मन्त्री अधिकारीले

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०७५, १८ : ०८
लाखे नाचको संरक्षण गर्न यस्तो उपाय दिए मन्त्री अधिकारीले


चितवन । पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले लाखे संस्कृतिको संरक्षण र खोजी गर्न जरुरी रहेको बताउनुभएको छ । 
लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले नारायणगढमा गरेको छैटौँ राष्ट्रिय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपालको संस्कृतिलाई समृद्धि बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संस्कृतिमा धनी छौँ, हाम्रो संस्कृतिलाई विश्वभर फैलाउन जरुरी छ ।’ उहाँका अनुसार मानिस भौतिक पूर्वाधारको समृद्धिले मात्र मान्छे सुखी हुँदैन । 
मन्त्री अधिकारीले भन्नुभयो, ‘संस्कृति संरक्षणमा मन्त्रालय लागेको छ, नेपालका संस्कृतिलाई अगाडि बढाउनुछ ।’ उद्घाटन कार्यक्रममा उहाँले लाखे संस्कृतिले मनोबल बढ्ने भएकाले यसको संरक्षण गर्दै अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको थियो । 
संघीय नेपालमा अहिले तीन वटा सरकार क्रियाशील रहेको हुनाले तीन वटा सरकार संस्कृतिको जगेर्ना, प्रचारप्रसार, खोज र अनुसन्धानमा लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अब नेपाली समाज पछाडि फर्कदैन, अगाडि बढ्यो । अब गफ गरेर बस्ने दिन छैन, समृद्धिको यात्रा तय गर्न छ । समृद्धिको लागि सरकार बलियो छ ।’


कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोख्रेलले लाखे नाचको संस्कृतिको संरक्षणमा लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठानले खेलेको भूमिका ज्यादै महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘लाखे नाच बेलायतको कुनै सहरमा देखाइयो भने यो सस्कृति कहाँको हो भनेर सोधियो भने नेपालको त्यसमा पनि नारायणगढको संस्कृति हो भनेर भन्नेछन् ।’ यस्ता संस्कृतिको संरक्षण गर्न सरकार लाग्न पर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय तथा स्थानीय संस्कृति संरक्षणमा महानगर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लाखे नाचको संस्कृति संरक्षणको लागि महानगरले कुन भूमिका खेल्न पर्ने हो त्यो खेल्न तयार रहेको छ ।’ मेयर दाहालले भन्नुभयो, ‘महानगरले स्थानीय संस्कृति र संरक्षण गर्न कुनै कमी गरेको छैन, पुगेछैन भने अझ गर्न तयार छौँ ।’
कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाशले संस्कृतिमा धनी रहेको नेपालले संस्कृति देखाएर विश्वका पाहुना बोलाउन सक्ने बताउनुभयो । अर्का प्रदेश सांसद विजय सुवेदीले संस्कृति संरक्षणमा सबैको दायित्व भएको बताउनुभयो । प्रदेश सांसद कृष्ण भुर्तेलले लाखे नाचको संस्कृतिलाई अझ विस्तार गर्नुपर्ने बताउनुभयो । अर्का प्रदेश सांसद मिलनबाबु श्रेष्ठ नेपाली संस्कृति विश्वमा नै धनी रहेको बताउनुभयो । 
नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले नेवारको संस्कृति आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष निर्जनबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 
 

प्रतिक्रिया दिनुहोस