अध्यक्ष प्रचण्ड र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०७५, १७ : ५२
अध्यक्ष प्रचण्ड र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

चीन । छिमेकी राष्ट्र चीनको भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बुधवार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउनुहुँदै अबको आफूहरुको अविभारा देशको समृद्धि भएको बताउनुभयो । त्यसको आधारका रुपमा कम्युनिष्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, “हामीसँग थुप्रै अवसर र चुनौतिहरु छन् । चुनौतिहरुको सामना गरेर मात्र विद्यमान अवसरहरु प्राप्त गर्न सकिन्छ ।”

अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो । 
उपराष्ट्रपति सानले अध्यक्ष प्रचण्डलाई भन्नुभयो, “तपाईलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । तपाई हाम्रो पुरानो कमरेड हुनुहुन्छ । तपाईसँग भेट गर्न पाउँदा हामीलाई खुसी लाग्छ । तपाई हाम्रो पहिले पनि भेट भएको थियो ।” उहाँले अध्यक्ष प्रचण्डले गर्नुभएको सम्बोधन निकै प्रभावशाली भएको भन्दै प्रसंशा पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधवार सम्बोधन गर्नुभएको थियो । उक्त समारोहमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस