सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार गम्भीर होस् : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, ११ : २९
सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार गम्भीर होस् : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताएका छन् ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌को ३३औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

'संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ', उनले भने, 'संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।

आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानको लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी छ ।'बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, सङ्क्रामक रोग इत्यादिलाई विशेष प्राथमिकतामा राखेर अध्ययन अनुसन्धानका गर्नुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास उनको विश्वास थियो ।

राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दस्तावेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्यहरू प्राप्त गर्न निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई बढावा दिनुपर्ने उनले बताए ।

नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस