मुलुकको विकास र सुशासन प्रवर्द्धनमा सबैको एउटै गठबन्धन हुनुपर्छ : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १५ : ०४
मुलुकको विकास र सुशासन प्रवर्द्धनमा सबैको एउटै गठबन्धन हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं। ​राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताएका छन् ।

चतराधाममा मंगलवारदेखि शुरू भएको १२ वर्षे कुम्भ मेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धन गर्न सबैको एउटै गठबन्धन हुनुपर्ने बताएका हुन् ।

 

उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसाथ गर्न आग्रह गरे ।

'जनता आफैंले बनाएको हाम्रो संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ', उनले भने, 'यो दर्शनलाई आत्मसाथ गर्दै राजनीतिमा जो–जो जता जता भएपनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ । कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।'

राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु भएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गरे ।वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्ष पहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेका उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस