४० बुँदे मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन, ४ हजारभन्दा बढी प्रहरी परिचालन

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १४ : १३
४० बुँदे मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन, ४ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा शुरू गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

'शान्तिसुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने छैनन् र अप्रिय घटना हुने छैन', उनले भने ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गरिएको छ ।अहिले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने शहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ ।उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौंमा आएका बताइएको छ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।