चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १६ : ३३
चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना

चितवन  ।  चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना कार्यक्रम भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँले आज आइतबार भरतपुरमा सो कार्यक्रम गरेको हो । कृषक र कृषि उपजमा बिषादीको प्रयोग, त्यसको असर र दीर्घकालीन समस्याका बारेमा कृषकहरु कै घर आगनमा पुगेर अन्तरक्रिया गरेको हो ।

समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार, बजार सम्बन्ध विकास र कृषकसँग कालिमाटी बजार सम्बन्धमा कृषकसँग फरक खालको कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक डा महादेवप्रसाद पौडेलले जानकारी दिए ।

विसं २०४३ असोज १५ गतेदेखि कालिमाटी बजार सञ्चालनमा आएर देशभरका कृषक र कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु खरिद तथा बिक्री बितरण गर्दै आएको छ । कार्यकारी निर्देशक पौडेलले भने, ‘समिति अब कृषकका समस्या समाधान गर्ने तर्फ केन्द्रीकृत भएको छ । ’कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिका कृषि क्रान्ति तर्फ केन्द्रीकृत भएको प्रष्ट पारे । ‘भरतपुर महानगरपालिका कृषिमा कायापलट हुनेगरी कृषि क्रान्ति गर्न चाहन्छ’, उनले भने, ‘कृषि क्रान्ति बिना देशमा परिवर्तन असम्भव छ । देशलाई मजबुत र समृद्ध बनाउने हो भने सबैभन्दा पहिला कृषिमा आमूल परिवर्तन आउने गरी काम गर्न आवश्यक छ ।’

उनले कृषकले उत्पादन गरेका कृषि वस्तुहरुको बजारीकरण गर्न र चिस्यान केन्द्रहरुको ब्यबस्थापन गर्न महानगरपालिका तयार रहेको पनि उल्लेख गरे । चितवनबाट उत्पादन भएका तरकारी तथा फलफूललाई काठमाडौ, पोखरासहित देशका मुख्य शहरहरुमा रहेका तरकारी बजारहरुमा स्टल राख्ने ब्यवस्था मिलाउन महानगरले पहल गर्ने पनि बताए ।

कार्यक्रममा भरतपुर २४ का अध्यक्ष राम गोदार, केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्थाका अध्यक्ष जनकराज पुरी, कृषि ज्ञान केन्द्र चितवन प्रमुख झलक कँडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मी लगायतले कृषि क्षेत्र र यससँग सम्बन्धित विभिन्न विषयमा आ आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा महादेवप्रसाद पौडेलले केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीलाई आधुनिक प्रविधिका १०० थान क्रेटहरु र तरकारी बिउबिजनहरु हस्तान्तरण गरेका छन् ।

समितिले अहिले देशका चार स्थानमा कृषि बजार र निर्माणाधिन बजार क्षेत्रहरु सञ्चालन गरी काम गरिरहेको छ । जस अन्तरगत कालिमाटी बजारमा थोक कारोबार, बालाजु बजारमा खुद्रा कारोबार, चोभार बजारमा फलफूल तथा पुष्प बजार र नौबिसे केन्द्रमा प्रस्तावित संकलन केन्द्रबाट कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु बिक्री बितरण गरेर उपभोक्ताको भान्छामा पु¥याउने काम गरेको छ । समितिमा अहिले ५९९ ब्यवसायीहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस