रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १६ : २८
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

काठमाडौँ। रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षाका साथै सकुशल उद्धार गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ ।रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानले आज मन्त्रालय पुगेर ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र मन्त्री लामिछानेलाई बुझाएको हो ।

साथै अभियानले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन मन्त्री लामिछाने समक्ष आग्रह गरेको छ।

यस्तै उनीहरूको सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकोको अवस्था सार्वजनिक गर्न अभियानका प्रतिनिधिहरूले माग गरेका छन् ।​ बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन पनि अभियानले आग्रह गरेको छ ।

 

उनीहरूसँगको छलफलपछि मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर्देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको बताएका थिए । त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने उनको भनाइ थियो ।​​

'तपाईंहरूको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नु परेको छ। यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज/भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु’, मन्त्री लामिछानेले भने ।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरूसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न पनि गृहमन्त्रीसँग माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस