विभिन्न घटनामा ४ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, ११ : ४८
विभिन्न घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न घटनामा परेर ४ जनाको मृत्यु भएको छ । चितवन, रसुवा र दोलखामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिकामा शुक्रबार भएको सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । 

कालिञ्चोक गाउँपालिकाको पुस्टियाङबाट सिंगटीनर्फ आउँदै गरेको लु ३ त १७१४ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेर सोही गाउँपालिका २ बाबरे बस्ने ३६ वर्षीय सञ्चीमाया थामीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् । 

ट्याक्टर चालक अबराम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही दिन सिन्धुलीको मदन भण्डारी राजमार्गमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १२ च ६४७४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको स ९ प ३५२१ नम्बरको  मोटरसाइकल एकआपसमा ठक्कर खाँदा कार चालक ईश्वर पौडेलसहित ३ जना घाइते भएका हुन् । चालक पौडेललाई उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिकामा बेहोस अवस्थामा भेटिएका एक विदेशी नागरिकको मृत्यु भएको छ । लाङटाङ घुमेर फर्किने क्रममा बेहोस भएका उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन् ।
उनको नाम, थर र देश खुलिनसकेको प्रहरीले जनाएको छ । 

त्यस्तै चितवनको भरतपुर महानगरपालिका ३ मा एक व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको प्रहरीको भनाई छ ।  उनको शव अहिले भरतपुर अस्पतालमै रहेको बताइएको छ । उनको नाम, थर र ठेगाना नखुलेको प्रहरीको भनाई छ । 

चितवनकै भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदी किनारमा स्थानीय लिला परियार मृत फेला परेका छन् । मंगलबारदेखि बेपत्ता भएका उनी शुक्रबार नदी किनारमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै भरतपुरकै जेष्ठ नागरिक चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० मा चौबिसकोठीबाट मालपोततर्फ जाँदै गरेको बा १६ च ७०६८ नम्बरको कार र ना ४१ प ६५९२ नम्बरको स्कुटर ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।