इजरायली सेना प्रमुखको स्वीकारोक्ति– गाजामा सहायताकर्मी मारिएकाेमा दुःखी छु, यसमा गम्भीर त्रुटि भयो

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १४ : ५५
इजरायली सेना प्रमुखको स्वीकारोक्ति– गाजामा सहायताकर्मी मारिएकाेमा दुःखी छु, यसमा गम्भीर त्रुटि भयो

काठमाडौं। गाजापट्टी–इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सातजना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् ।सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तीव्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटि” भएको स्वीकार गरेका छन् ।

इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमवार रातिको समयमा हवाई हमला गरेको थियो ।सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वल्र्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिबस सेनाले हमला गरेको बताएका छन् ।

 

 

उनले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको पनि दाबी गरेका छन् । गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्न समेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वल्र्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्गहुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ । 

यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नु भएको छ । उनले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताएका छन् । 

राष्ट्रपति बाइडेनले उक्त आक्रमणको तत्काल छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्न इजरायलसँग माग गरेका छन् । 

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि मानवीय सहायताकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद रहेको बताउँदै हालसम्म इजरायली आक्रमणबाट १९६ जना मानवीय सहायताकर्मी मारिइसकेको बताएका छन् । उनले गाजामा तत्कालै मानवीय युद्धविराम गर्न इजरायललाई आग्रह गरेका छन् ।

वर्ल्ड किचेनले इजरायली आक्रमणबाट मारिएका व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेको छ । मारिनेहरुमा साइफेडिन इसाम आयाद अबुताह, जोमी फ्रान्कोम, पोल डामियन सोबोल, ज्याकोब फ्लिकिन्गर, जोन च्यापम्यान, जेम्स हेन्डरसन र जेम्स कर्बी रहेका छन् ।

डब्लूसीकेका प्रमुख कार्यकारी एरिन गोरले एक विज्ञप्ति जारी गर्दै दिनभरको कामबाट थकित हाम्रा सहायताकर्मीमाथि इजरायलले हवाई हमला गरेर अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गरेको बताएका छन् । उनले इजरायली सेनासँग समन्वय गरिए पनि इजरायली आक्रमण आफूहरूमाथि लक्षित रहेको जनाएका छन् । 

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डब्लुसीकेमाथि भएको हमला जानाजान नभएको दाबी गरेका छन् । प्रधानमन्त्री नेतान्याहुले उक्त घटनाप्रति क्षमासमेत नमागेको बताइएको छ । यद्यपि उनले घटनाको अनुसन्धान गरिने बताएका छन् । 

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि इजरायली प्रधानमन्त्रीलाई टेलिफोन गरी उक्त घटनाप्रति रोश प्रकट गरेका छन् । बेलायतले इजरायली राजदूतलाई डाकेर उक्त घटनाको पूर्ण जिम्मेवारी लिन माग गरेको छ ।

पोल्यान्डले भने उक्त घटनामा मारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन इजरायलसमक्ष आग्रह गरेको छ । उक्त घटनामा मारिएका सहायताकर्मीको शव दक्षिण गाजा सीमाबाट बुधवार आ–आफ्ना मुलुकतर्फ लैजाने प्रबन्ध मिलाइएको छ । 

यसैबीच, इजरायलले गाजामा जारी राखेको सैनिक कार्यबाहीका क्रममा बुधवार राति कम्तीमा ६० जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस