हाम्रो सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुन्छौं : कांग्रेस

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, ११ : ५६
हाम्रो सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुन्छौं : कांग्रेस

काठमाडौं । प्रमुख  प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका हुन् ।

बुधबार आफूहरुको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको र सभामुखले त्यसलाई सच्याएको पनि उनले बताए । ‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर, उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्द पहिले गर्न चाहन्छु,’ सांसद शर्माले भने ।

सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमै दिन चाहेको उपप्रधानमन्त्री लामिछाने बताउँदै आएका छन् ।

तर, कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा सुन्न चाहेको छैन् । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

प्रतिक्रिया दिनुहोस