झापामा पच्चीस जना बालबालिकामा क्षयरोग

रासस

शनिबार, १० चैत्र २०८०, १५ : ४३
झापामा पच्चीस जना बालबालिकामा क्षयरोग

झापा । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् ।

साउनदेखि पुसमसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी फेला परेका भन्दै तीमध्ये २५ जना बालबालिका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । उनका अनुसार नयाँ क्षयरोगीमा एक सय ८२ महिला र तीन सय ८८ पुरुष रहेका छन् । 

चार सय ३१ जनामा फोक्सोसम्बन्धी क्षयरोग देखापरेको छभने एक सय ३९ मा अन्य क्षयरोग देखिएको फोकल पर्सन दासले बताए । उनका अनुसार एचआइभी सङ्क्रमित नौजनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सातजना रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७-७८ मा नौ सय ९२, आव २०७८-७९ मा एक हजार एक सय ८६ र आव २०७९-८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए । झापामा भोलि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस-२०८० मनाइँदैछ ।

“चालु आवमा क्षयरोगका बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ”, फोकल पर्सन दासले भने, “अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ ।” उनका अनुसार गत आव २०७९-८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो । “क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । श्वाप्रश्वासको माध्यमबाट सर्ने भएकाले क्षयरोगीले खोक्दा, हाच्छ्यू गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने गर्दछ”, दासले भने । उनका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-८० मा नेपालमा ३७ हजार चार सय ४७ क्षयरोगका बिरामी पत्ता लागेका छन् ।

फोकल पर्सन दासले सङ्क्रमण पत्ता लागेका तीन प्रतिशत बिरामीको मृत्यु भएको भन्दै मृत्यु हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका जानकारी दिए । सङ्क्रमित बिरामीमध्ये आठ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । करिब ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित छन् भने २८ प्रतिशत बिरामी फोक्सोबाहेक अन्य अङ्गहरुको सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आर्थिक वर्ष २०७९-८० मा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिनाका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा यो रोग उन्मूलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन दासले बताए ।

नेपाल विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्ने भन्दै छ सय ९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकामा पाँच सय ४६ उपचारको दायरामा आएका छन् । पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२ दशमलव चार र औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको उनले जानकारी दिए । 

दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु, साँझपख ज्वरो तथा पसिना आउनु, खानामा रुचि कम हुनु, तौल कम हुनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

Tags :