बाँसबारी जग्गा प्रकरण

विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १६ : १५
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन

काठमाडौं। बाँसबारी जुत्ता कारखानाको सरकारी जग्गा आफ्नो परिवारको नाममा आएको प्रकरणमा विनोद चौधरीले निर्दोष रहेको दाबी गरेका छन् । उद्योग मन्त्रालय, उद्योग विभाग र अर्थ मन्त्रालयसमेतको प्रतिनिधि रहने सञ्चालक समितिले निर्णय गरेर जग्गा आएका कारण त्यसमा चौधरी समूहको कुनै भूमिका नरहेको बयान दिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।

‘मन्त्रालयका समेत प्रतिनिधि भएको सञ्चालक समितिले निर्णय गरेर त्यो जग्गा च्याम्पियन फुटवेयरको नाममा आएको हो । त्यसैले यसमा चौधरी समूहबाट कुनै गल्ती भएको छैन । अब कानुनअनुसार हुन्छ’, चौधरीको भनाई उदृत गर्दै जिल्ला सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।

अरुण र विनोदलाई बयान, वसन्तलाई घटना विवरण कागज मात्र 

चौधरी समूहका तीन भाइ अरुण, वसन्त र विनोदमध्ये दुई जनासँग बयान लिइएको छ । अरुण र विनोदलाई सीआईबीले बयान गराएको छ । वसन्तसँग भने घटना विवरण कागज मात्र गरिएको छ ।

२०४४ सालमा च्याम्पियन फुटवेयर चौधरी समूह र बाँसबारी छाला उद्योगको पब्लिक प्राइभेट पार्टनरसिपमा सुरु भएको थियो । बाँसबारी छाला उद्योगले ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई उपलब्ध गराएको थियो । च्याम्पियन फुटवेयरको सञ्चालक समितिमा त्यति बेला बाँसबारी छाला उद्योगका तर्फबाट अजित नारायण थापा र चौधरी समूहका तर्फबाट विनोद र अरुण तथा उनीहरूका बुबा लुनकरणदास थिए ।

सञ्चालक समितिमा नरहेका कारण वसन्तसँग हाललाई घटना विवरण कागज गराइएको सीआईबी स्रोतले भन्यो । त्यति बेला सेयरको मात्र भूमिका रहेका अन्यसँग भने सीआईबीले घटना विवरण कागज गराएको छ ।

सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले एक वर्षको हदम्याद भएकाले अनुसन्धान कहिले सकिन्छ भन्ने अहिले नै केही भन्न नसकिने बताए । ‘बुझ्नुपर्ने अझै धेरै मान्छेहरू छन् । उहाँहरूलाई खोज्नुपर्ने हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस