विषाक्त आहाराका कारण गिद्ध मर्ने क्रम बढ्दै

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १५ : ५६
विषाक्त आहाराका कारण गिद्ध मर्ने क्रम बढ्दै

काठमाडौं। मध्यविन्दु– विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ । विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ । 

 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन् । विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरी बताए ।

‘गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ,’ उनले भने, ‘विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ । विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्ध मरेका हुन् ।’

यसअघि गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाए पनि लुकिछिपी बिक्री हुने गरेको छ । सो औषधिका कारण पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चरा विद्हरु बताउँछन् । डाइक्लोफेनेक औषधि प्रयोग गरी उपचार गराइएका पशुको सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई गिद्ध मर्ने गरेका चरा विज्ञ डा हेमसागर बरालले बताए ।

पछिल्लो समय मरेका कुकुर, स्याललगायतको सिनोमा डाइक्लोफेनेकभन्दा कडा विषादी प्रयोग गरिँदा गिद्ध मर्ने गरेको पाइएको चरा विज्ञ बरालले बताए । ‘विषादी किनबेच गर्न विज्ञको सिफारिस अनिवार्य चाहिने व्यवस्था गर्नुपर्छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस