गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, ०८ : ५६
गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कंचनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ। गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ।

नेपाल पन्छी संरक्षण सङ्घ ९बिसिएन०ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो। बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन्।

कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन्। त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन्। यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ।

सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन्। कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेलापरेका छन्। यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ।

राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो। सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या एकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताए। उनका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार पारेका थिए

गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए। ‍‘टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ‘’, उनले भने, ‍‘गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ।‘’

प्रतिक्रिया दिनुहोस