वैशाख २१ र २२ गते महाधिवेशन गर्ने पत्रकार महासंघको निर्णय

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १६ : २१
वैशाख २१ र २२ गते महाधिवेशन गर्ने पत्रकार महासंघको निर्णय

काठमाडौँ । नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले महासंघको २७औँ महाधिवेशनको मिति तोकेको महासचिव रोशन पुरीले जानकारी दिए ।

बैठकले महासंघका सबै प्रदेशको अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिइएको पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ ।

बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।

सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय भएको महासचिव विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस