विकासलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्य छ : मुख्यमन्त्री जम्कट्टेल

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १३ : ०२
विकासलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्य छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारले विकासको लक्ष्य लिएर अघि बढेको बताएका छन् । प्रदेश सरकारले विकास निर्माणका कामलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको उनले बताए ।

मकवानपुरको मनहरीमा रजैया दरदरा मोटरेबल पुलको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले विकास निर्माणका कामलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताए । कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माणका काम अघि बढाउने सरकारको तयारी रहेको उनले बताए । सरकार परिवर्तनसँगै नीति बदलिने समस्यालाई हल गर्दै ५ वर्षे नीतिमा काम गर्ने गरी बागमती प्रदेश सरकार अघि बढिरहेको उनको भनाइ छ ।

‘प्रदेश सरकारले विकासको मोडल परिवर्तन गरेर अघि बढिरहेको छ । देशले नै अनुसरण गर्ने गरी विकासको मोडल तयार पारेर बागमती प्रदेश सरकारले ५ वर्षे नीतिसहित काम गरिरहेको छ’ उनले भने, ‘प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरिएको छ । स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले आफ्ना कामलाई परिष्कृत गर्दै अघि बढेको छ । प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौतीका रूपमा देखिएको छ ।’

उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठुला सडक पुलहरूमा लगानी गर्ने रणनीति बनाएको छ । साना योजनाहरू स्थानीय तहलाई नै कार्यान्वयन गर्न दिनेगरी प्रदेश सरकारले काम गरिरहेको उनले बताए । प्रदेश सरकारले विकासका कामलाई निरन्तर अवरोध रहित ढङ्गबाट अघि बढाउन पहल गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस